१९औं वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकले सडक दौड आयोजना गर्ने,प्रथमलाई ५० हजार नगद

२०८२ कात्तिक २६ गते

१९औं वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकले सडक दौड आयोजना गर्ने,प्रथमलाई ५० हजार नगद

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा रोड रेस, २०८२ आयोजना गर्ने भएको छ ।“स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ मिति २०८२ मंसिर ६ गते, शनिबारका दिन गरिमा रोड रेस प्रतियोगिता गर्न लागेको हो । खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ समेत ५ किलोमिटरको हुनेछ । गत वर्ष खुला र कर्पोरेट विधामा मात्र रोड रेस प्रतियोगिता आयोजना भएकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरुलाई समेत समेट्ने उद्देश्यले भेट्रान विधा समेत थप गरिएको छ । 

 

Advertisement:

Ad
Ad

करिब १,००० जना प्रतियोगी सहभागी हुने अपेक्षा रहेको गरिमा रोड रेस, २०८२ मा सहभागी प्रतियोगीहरुमध्ये खुलातर्फको दुवै समूहको विजेताले जनही रु.५०,००० र कर्पोरेट र भेट्रान तर्फ जनही रु.३०,००० नगद पुरस्कार प्राप्त गर्नेछन । साथै, खुला तर्फ दोस्रो स्थान हासिल गर्नेले रु.३५,०००, तृतीय स्थान हासिल गर्नेले रु.२०,०००, चौथो स्थान हासिल गर्नेले रु.१५,००० र पाँचौ स्थान हासिल गर्नेले रु.१०,००० नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, कर्पोरेट र भेट्रान तर्फ दोस्रो स्थान हासिल गर्नेले जनही रु २०,०००, तृतीय हुनेले रु १४,०००, चौथो हुनेले रु १०,००० र पाँचौ हुनेले रु.७,००० नगद पुरस्कार प्राप्त गर्नेछन् । 

 

बालुवाटार, काठमाण्डौस्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय रहने भवन परिसरबाट शुरु हुने रोड रेस प्रतियोगिताको खुला तर्फको प्रतिस्पर्धा बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन पुगेर पूनः सोही बाटो हुँदै बालुवाटार पुगेपश्चात समापन हुनेछ । त्यसैगरी कर्पोरेट र भेट्रान तर्फको प्रतिस्पर्धा सोही स्थानबाट शुरु भई बाँसबारी स्थित न्युरो अस्पताल पुगेर पूनः सोही बाटो बालुवाटार पुगे पश्चात समापन हुनेछ । 

 

प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । ईच्छुक धावकहरुले प्रतियोगितामा २०८२ कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत रु.२० शुल्क तिरी रजिष्टे«शन गर्न सक्नु हुनेछ । प्रतियोगिता सम्बन्धी थप जानकारीको लागि विकास बैंकको कल सेन्टर ०१–५९७०१७९ मा समेत सम्पर्क गर्न सकिनेछ । गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठ सहित कुल ६५० प्रतिस्पर्धीको सहभागिता रहेकोमा यस वर्ष समेत प्रतियोगीहरुको उल्लेख्य सहभागिता हुने विकास बैंकले विश्वास लिएको छ ।