२०८२ साउन ३१ गते
काठमाडौं । नेपालका राष्ट्रिय स्तरका विकास बैंकहरूले आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म उल्लेख्य वित्तीय प्रगति गरेका छन्। नेपाल राष्ट्र बैंकमा पेश गरिएको अपरिष्कृत वित्तीय विवरण अनुसार, गत आर्थिक वर्षको असार मसान्तसम्म राष्ट्रिय स्तरका ८ वटा विकास बैंकहरूले जम्माजम्मी ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन्।
यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.०१ प्रतिशतले वृद्धि भएको हो। आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म यिनै बैंकहरूले जम्मा ४ अर्ब ५९ करोड ६२ लाख २५ हजार रुपैयाँ नाफा कमाएका थिए। यस आधारमा हेर्दा, आर्थिक संकट, मौद्रिक नीतिका कडाइ, तथा ब्याजदरमा चाप हुँदाहुँदै पनि बैंकहरूको नाफामा सकारात्मक वृद्धि देखिनु उल्लेखनीय छ।
सबेभन्दा धेरै नाफा गर्ने बैंक – मुक्तिनाथ विकास बैंक
प्रकाशित विवरण अनुसार, मुक्तिनाथ विकास बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंकको रूपमा अगाडि देखिएको छ। असार मसान्तसम्म बैंकले १ अर्ब ५३ करोड ७४ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रहेको १ अर्ब १७ करोड ६३ लाख ३५ हजार रुपैयाँ नाफाको तुलनामा ३०.७० प्रतिशतले बढी हो।
आश्चर्यजनक वृद्धि – गरिमा विकास बैंक
नाफा वृद्धिमा गरिमा विकास बैंकले सबैलाई पछाडि पार्दै उल्लेखनीय सफलता देखाएको छ। बैंकको नाफा २०१.९७ प्रतिशतले वृद्धि भई १ अर्ब ३१ करोड ३ लाख ९२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ४३ करोड ३९ लाख ५१ हजार रुपैयाँ मात्र थियो। यो वृद्धिलाई निकै उत्साहजनक उपलब्धि मानिएको छ, जसले बैंकको भविष्यप्रतिको लगानीकर्ताको विश्वास पनि बढाउने देखिन्छ।
अन्य बैंकहरुको स्थिति
अन्य विकास बैंकहरूमा पनि अधिकांशले आंशिकदेखि उल्लेख्यसम्मको नाफा वृद्धि गरेका छन्। यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ०.४८ प्रतिशतले बढेर ६८ करोड ८६ लाख २९ हजार रुपैयाँ पुगेको छ।
कामना सेवा विकास बैंकको नाफा ९.१९ प्रतिशतले वृद्धि भई ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँमा पुगेको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले ६.५१ प्रतिशतको वृद्धिसहित ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ।
महालक्ष्मी विकास बैंकको नाफा पनि १.२६ प्रतिशतले बढेर ५० करोड ६६ लाख ६५ हजार रुपैयाँ पुगेको छ।
घाटामा गएका बैंकहरू
यद्यपि, सबै बैंकले नाफा बढाउन सफल भएका छैनन्। कुल ८ वटा राष्ट्रिय विकास बैंकहरूमध्ये २ वटा बैंकले अघिल्लो वर्षको तुलनामा नाफा घटाएका छन्स्
लुम्बिनी विकास बैंकको नाफा ३०।१३ प्रतिशतले घटेर ३७ करोड ९८ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ।
ज्योति विकास बैंकको अवस्था अझै कमजोर देखिएको छ, जसको नाफा ९२।७४ प्रतिशतले घटेर मात्र १ करोड २३ लाख ७८ हजार रुपैयाँमा झरेको छ।
प्रतिक्रिया