नेपाल राष्ट्रिय व्यवसायी महासंघको माग : घरभाडा कर ५ प्रतिशत र भ्याट १० प्रतिशत गराईयोस्

२०८१ पुस १४ गते

नेपाल राष्ट्रिय व्यवसायी महासंघको माग : घरभाडा कर ५ प्रतिशत र भ्याट १० प्रतिशत गराईयोस्

काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औँ वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशन पुस २० शनिबार हुने भएको छ । साना तथा मझौला उद्योगी तथा व्यवसायीको हकहितमा स्थापित महासंघमा हाल २२ वटा संस्था आवद्ध रहेका छन् । आइतबार पत्रकार सम्मेलन गरी आसन्न साधारण सभा एवं अधिवेशनले अध्यक्ष सहित ९० पद सर्वसम्मत गराउने तयारी गरिरहेको अध्यक्ष कुमार कार्कीले बताए ।

राष्ट्रिय सभा गृहमा हुने अधिवेशनका प्रमुख अतिथि प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल रहने छन् । उनले भने,'वर्तमान अर्थमन्त्री र प्रधानमन्त्रीलाई सुनाउन पर्ने व्यवसायीका धेरै समस्या र माग छन्, सुनाउन पर्ने त सरकारलाई नै हो तर समय नदिएपछि जसले सुन्न समय दिएको छ उसैलाई सुनाउने हो ।त्यसैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अतिथी बनाएर ल्याउन लागेका छौँ ।'

Advertisement:

Ad
Ad

साना तथा मझौला व्यवसायीहरुलाई हाल परेको पीर मर्का समेत सुनाउने र बुझाउने उद्देश्यले महाधिवेशनको मूख्य अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरिएको थियो । प्रधानमन्त्रीसँगै अर्थमन्त्री विष्णु पौडेललाई समेत बोलाउने हिसावले व्यवसायीको टोली निम्तो पत्र बोकेर प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालय पुगेपनि व्यस्तताको कारण देखाउँदै पन्छिन खोजेपछि अन्ततः व्यवसायीहरुले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अतिथिको निम्तो दिएको र उनले सहश्र स्विकार गरेकाले उनकै आतिथ्यतामा महाधिवेशन गर्न लागेको महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष नरेश कटुवालले बताए ।

कटुवालले भने, 'यो स्वतन्त्र ्व्यवसायीहरुको महाधिवेशन हो, कुनै पार्टीको महाधिवेशन होइन ।अहिले व्यापार व्यवसाय गर्न सहज छैन,धेरै वेथितीहरु बढेको छ ,भन्सारमा त्यत्तिकै समस्या छ । विगतमा पनि सरकारलाई झक्झक्याएर कतिपय माग पुरा गर्यौँ अव आउने नेतृत्वले पनि यसलाई निरन्तरता दिनेछ । नेतृत्व विवादरहित सहमतीय प्रणालीमा जाने तयारी छ ।'

अधिवेशनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महासंघले विभिन्न बुँदागत मागहरु अघि सारेको छ । यस्ता छन् व्यवसायीहरुका मागहरु-

१, सीमा नाकामा हुने चोरी पैठारी रोक्न भन्सारमा कडाईका साथ चेकजाँच गरिनु पर्ने । २, शहरमा व्यापार व्यवसाय गर्न सहज हुने गरी घरघाडा कर वैज्ञानिक बनाउन पर्ने । ३, पान मार्फत गरिने कारोबार सीमा ५० लाखबाट बढाएर २ करोड बनाउन पर्ने । ४, करचुक्ता प्रमाणपत्र दिइसकेपछि व्यवसायीलाई पूनः तानेर अनावश्यक झन्झट दिन नहुने । ५, प्रोपाइटरशिप व्यापार र प्रालीमा समान कर लगाइनुपर्ने । ६,घरभाडा कर ५ प्रतिशतमा झार्नुपर्ने । ७,चीनको केरुङ नाकाहरुमा नेपाली व्यापारीहरुलाई सहज प्रवेशको व्यवस्था मिलाउनपर्ने । ८, साना तथा मझौला व्यवसायीलाई सहुलियत दरमा ऋण व्यवस्था दिलाउनपर्ने । ९,व्यवसाय दताृमा एकद्वार नीति ल्याउनपर्ने । १०,भन्सार दर घटाउनपर्ने । ११,भ्याट १० प्रतिशतमा झार्नुपर्ने ।