डोनाल्ड ट्रम्पद्वारा ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण

२०८१ माघ ०७ गते

डोनाल्ड ट्रम्पद्वारा ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण

अमेरिका। विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्प नियुक्त भएका छन् । राष्ट्रपतिको शपथ ग्रहणसँगै ट्रम्पले सोमवार अपराह्नदेखि राष्ट्रपतिको पदभार ग्रहण गरेका हुन् । गत नोभेम्बर ६ मा राष्ट्रपतिमा निर्वाचित ट्रम्पले करिब साढे दुई महिनापछि सोमवार पदभार ग्रहण गरेका हुन् । यो क्षणलाई ट्रम्पले ‘अमेरिकाको मुक्तिको दिन’ भनेका छन् ।

७८ वर्षीय ट्रम्पको यो दोस्रो कार्यकाल हो । यस अघि उनी अमेरिकाको ४५ औँ राष्ट्रपति थिए । सत्ता च्युत भएको ठिक आठ वर्षपछि ट्रम्पको पुनरागमनलाई विश्वभरबाट बडो कौतुहलताका साथ हेरिएको छ भने अमेरिकामा वर्षौँदेखि गैर कानुनी तवरले लुकिछिपी रहेका आप्रवासीहरूको भने सातो गएको छ ।

Advertisement:

Ad
Ad

ट्रम्पले राष्ट्रपतिको पदभार सम्हाले सँगसँगै अमेरिकाका वर्तमान राष्ट्रपति जो वाइडेन ह्वाइट हाउसबाट बिदाइ भएर जानेछन् । वाइडेन र ट्रम्पबिच शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण प्रक्रिया सम्पन्न भएको छ ।

शपथ ग्रहण समारोहका कार्यक्रमहरू शनिवारदेखि नै सुरु भएको थियो र मङ्गलवार सम्पन्न हुनेछ । त्यसपछि राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यकक्षमा राष्ट्रपतिको हैसियतले केही महत्त्वपूर्ण नियुक्ति, सीमा र अध्यागमनलाई सम्बोधन गर्न केही कार्यकारी आदेश र केही महत्त्वपूर्ण कागजातमा हस्ताक्षर हुने जनाइएको छ ।

ट्रम्पले सोही दिन करिब सय वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन् । पहिलो दिन ट्रम्पले जनवरी ६, २०२१ मा क्यापिटल हिलमा आक्रमण गर्ने सबै मानिसलाई आममाफी दिने बताइएको छ । त्यसै गरी पहिलो दिन नै उनले अवैधानिक तवरले अमेरिकामा बसोबास गर्दै आएका विशाल जनसमूहलाई देश निकाला गर्न सक्ने आदेश दिनुहुने पनि बताइएको छ । त्यस्तै दक्षिणी सीमामा पर्खालको निर्माण, खनिज पदार्थको उत्खनन, क्यानडा र मेक्सिकोबाट अमेरिका भित्रिने सामानमा २५ प्रतिशत कर र चिनिया सामानमा ३५ प्रतिशतसम्म कर लगाउने निर्णय पनि गर्ने बताइएको छ ।