२०८२ पुस १७ गते
काठमाडौँ । नेपालमा भर्चुअल एसेट सम्बन्धी कारोबार कानुनी रूपमा निषेधित भए तापनि त्यस्ता गतिविधिमा नेपालीको मोह डरलाग्दो देखिएको छ ।
अवैध वैदेशिक विनिमय कारोबार (हुन्डी कारोबार), अनलाइन वित्तीय ठगी, अनलाइन जुवा, व्यवसायको वास्तविक प्रकृति लुकाई गरिने कारोबार, तथा मनी–म्युलको प्रयोग जस्ता आपराधिक क्रियाकलाप बढ्नुले नेपालमा चिन्ता थपिएको विश्लेषण गरिएको छ ।
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५’ ले नेपालमा भर्चुअल एसेट सम्बन्धी कारोबारको डरलाग्दो चित्र सार्वजनिक गरेको हो । विशेष गरी युवा पुस्ता, विद्यार्थी र जागिरे वर्ग अवैध धन्दाको ‘सफ्ट टार्गेट’ बनिरहेको र बैंकिङ प्रणालीलाई नै ठगीको रकम व्यवस्थापन गर्ने माध्यम बनाइएको देखिएको छ ।
प्रतिवेदन अनुसार सन् २०२१ देखि २०२५ को जुलाईसम्ममा कुल ६५८ वटा क्रिप्टो सम्बन्धी शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएका छन् । आन्तरिक राजस्व विभागमा पठाएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनको विश्लेषणले नेपालको एउटा ठूलो युवा हिस्सा अवैध वित्तीय क्रियाकलापमा फसेको देखाएको छ। शंकास्पद कारोबारमा संलग्न व्यक्तिहरूको उमेर समूह विश्लेषण गर्दा ७५ प्रतिशत व्यक्ति २१ देखि ३५ वर्ष उमेरका छन् ।
पेशागत रूपमा २९ प्रतिशत विद्यार्थी छन् भने २१ प्रतिशत कर्मचारी छन् । यसैगरी आफ्नै उद्यम गर्नेहरू १९ प्रतिशत र वैदेशिक रोजगारीमा जानेहरू ९ प्रतिशत छन् । यस्ता अवैध वित्तिय क्रियाकलापले औपचारिक वित्तीय प्रणालीलाई छल्दै सीमापार मूल्य स्थानान्तरण, तहगत कारोबार तथा अवैध आम्दानी लुकाउने कार्यलाई सहज बनाउन सक्ने देखिन्छ ।
नेपालमा भर्चुअल एसेट सम्बन्धी कुनै पनि किसिमको कारोबार, प्रयोग, स्थानान्तरण वा लगानी प्रचलित कानुनबमोजिम पूर्ण रूपमा निषेधित छ । यस्ता गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्ति वा संस्थाविरुद्ध सम्बन्धित कानुनअनुसार अनुसन्धान, रोक्का/जफत तथा अभियोजन प्रक्रिया अघि बढ्नसक्ने ब्यहोरालाई प्रतिवेदनले स्पष्ट पारेको छ ।
प्रस्तुत प्रतिवेदन भर्चुअल एसेट सम्बन्धी जोखिमको पहिचान, नीतिगत निर्णय, नियामकीय निगरानी, अनुसन्धानको प्राथमिकता निर्धारण तथा सूचक संस्थाहरू र कानुन कार्यान्वयन गर्ने निकायको क्षमता अभिवृद्धिमा सन्दर्भ सामग्रीको रुपमा हुनसक्ने देखिन्छ ।
भर्चुअल सम्पत्तिहरू विश्वव्यापी वित्तीय परिदृश्यमा सबैभन्दा रूपान्तरणकारी नवप्रवर्तनहरूमध्ये एकका रूपमा उदाएका छन्। यी विनिमयको माध्यम, आर्थिक मूल्यको भण्डार, लेखा एकाइ वा लगानीका रूपमा कार्य गर्न सक्छन् । यद्यपि यी भूमिकाहरूमा तिनीहरूको प्रभावकारिता फरक–फरक हुन सक्छ र अझै यो विकासको क्रममा छ।
क्रिप्टोकरेन्सीहरू, ननफन्जिबल टोकनहरू, सेक्युरिटी टोकनहरू र स्टेबलकोइनहरू भर्चुअल एसेट हुन्। नेपालमा भर्चुअल सम्पत्तिहरूमाथि सरकारको पूर्ण प्रतिबन्ध हुँदाहुँदै पनि अनलाइन ठगीबाट प्राप्त रकम प्रयोग गरी गरिने क्रिप्टोकरेन्सी कारोबार एक प्रमुख आपराधिक चिन्ताको विषय बनेको छ।
प्रतिक्रिया