व्यक्तिगत घर बनाउँनेले पनि ऋण लिन छाडेका हुन् ?

२०८२ जेठ २८ गते

व्यक्तिगत घर बनाउँनेले पनि ऋण लिन छाडेका हुन् ?

काठमाडौ । बैंक तथा वित्तिय संस्थाले व्यत्तिगत घर बनाउँन करिब पौने २१ अर्ब रुपैयाँ ऋण दिएको देखिएको छ ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदन अनुसार १० महिनामा बैंकहरुले २० अर्ब ८९ करोड २० लाख रुपैयाँ मात्र ऋण दिएको देखिएको हो ।

जवकी गत आवको १० महिनामा (यसै अवधिमा) ४१ अर्ब ९० लाख १९ करोड रुपैयाँ प्रवाह भएको देखिन्छ । यसलाई आधार मान्दा यो वर्ष घर निर्माणका लागि जाने ऋण निकै घटेको छ । यसले व्यत्तिगत आवासीय घरकर्जाको पनि माग घटेको देखाउँछ । बैंकहरुमा लगानी गर्ने रकम अधिक हुँदा हुँदै र ब्याजदर पनि निकै कम हुदा समेत घरकर्जा प्रति आकर्षण देखिएको छैन । हालसम्म (विभिन्न अवधिको)  आवासीय घरकर्जाका लागि ४ खर्ब ७ अर्ब ९० करोड रुपैयाँ कर्जा गइसकेको छ । यो बैंकहरुले २ करोडसम्मको घर निर्माणमा दिने आवासीय कर्जा हो । 

Advertisement:

Ad
Ad


यता समग्र घरजग्गा क्षेत्रमा भने १३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ । यो १० महिनालाई आधार मान्दा गत आवको यसै अवधिको तुलनामा बढी हो । हालसम्म भने यस क्षेत्रमा २ खर्ब ८१ अर्ब ५५ करोड रुपैयाँ कर्जा गएको देखिन्छ । पछिल्लो समय जुनसुकै क्षेत्रमा पनि कर्जाको माग कम देखिदा पनि सेयर  कर्जा भने बढेको देखिन्छ ।  १० महिनाको अवधिमा सेयर कर्जा ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँले बढेको छ। राष्ट्र बैंकका अनुसार चालु आवको वैशाखसम्ममा बैंक–वित्तीय संस्थाले १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँको सेयर कर्जा प्रवाह गरेका छन् । 


 यद्यपि, अन्य क्षेत्रको कर्जा प्रवाह भने सुस्त हुदा बैकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । यसै कारण केन्द्रिय बैंकले अधिक तरलता व्यवस्थापनका लागि दिनहुँ जसो विभिन्न उपकरण मार्फत पैसा उठाइरहेको छ ।