२०८२ माघ ०७ गते
काठमाडौ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो । सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्यहरु निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाहरुको संचालक समितिबाट बहिर्गमन भएसँगै सिबिफिन कार्यसमितिमा बहाल पद स्वतः समाप्त हुने व्यवस्था रहेको छ ।
परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा यही माघ ६ गतेका दिन सम्पन्न कार्यसमितिको १५औँ बैठकबाट बाँकी कार्यकालका लागि सर्वसम्मत रुपमा मनोनीत भएका श्रेष्ठ नेपालको बैंकिङ एवं वित्तीय क्षेत्रका एक अग्रणी व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएका श्रेष्ठ यसअघि कार्यसमितिको महासचिव पदमा थिए ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले अध्यक्षको पदभार ग्रहण गर्दै आफूमाथि विश्वास एवं भरोसा गरी सिबिफिन जस्तो नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाको नेतृत्वदायी जिम्मेवारी बहन गर्ने अवसर प्रदान गरेकोमा कार्यसमितिप्रति आभार व्यक्त गर्दै सिबिफिनका संस्थापक अध्यक्ष तथा हालका प्रेसिडेन्ट इमेरिट्स पवन कुमार गोल्यान र निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले निर्माण गरेको सिबिफिनको विरासतलाई अक्षुण राख्दै सिबिफिनलाई बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा रहेको बैंकिङ जस्तो अपरिहार्य एवं संवेदनशील क्षेत्र आज चुनौतीपूर्ण र असुरक्षित बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले करोडौँ जनताको जीवन र राष्ट्रकै भविष्यसमेत जोडिएको बैंकिङ क्षेत्रको साझा हितको प्रवद्र्धन, बैंकिङ क्षेत्रप्रतिको आम जनविश्वास एवं भरोसा अभिवृद्धि, वित्तीय स्थायित्व र दिगो विकासमार्फत सुदृढ अर्थतन्त्र एवं समुन्नत राष्ट्र निर्माणका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकाय तथा समग्र निजी क्षेत्रसँग हातेमालो एवं निकट सहकार्यलाई प्रमुख प्राथमिकता दिँदै कार्यसमिति अगाडि बढ्ने बताए ।
त्यसैगरी नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा सोही दिन बसेको कार्यसमितिको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत मनोनीत गरेको छ । तत्कालीन महासचिव प्रचण्ड बहादुर श्रेष्ठ अध्यक्षमा मनोनीत भएसँगै महासचिव पद रिक्त भएको थियो भने एनआईसी एसिया बैंकका तत्कालीन अध्यक्ष तुल्सीराम अग्रवालले यसअघि नै बैंकको अध्यक्षबाट राजीनामा दिएको कारण कोषाध्यक्ष पदसमेत रिक्त रहेको थियो ।
प्रतिक्रिया