२०८२ पुस २९ गते
काठमाडौँ। केन्द्रीय बैंकले पछिल्लो समय बजारको तरलता व्यवस्थापनका लागि ऋणपत्रलाई मुख्य उपकरण बनाउँदै गएको छ। यसअघि निक्षेप संकल उपकरण र रिभर्स रिपोमार्फत तरलता व्यवस्थापन गर्दै आएको नेपाल राष्ट्र बैंक हाल निरन्तर रूपमा ऋणपत्र निष्कासनमा केन्द्रित देखिएको हो।
चालु आर्थिक वर्षमा पहिलोपटक १४ पुस २०८२ मा २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ जारी गरेको राष्ट्र बैंकले मंगलबार आठौँ पटक ऋणपत्र जारी गरेको छ। सोमबार २५ अर्ब रुपैयाँको बन्ड निष्कासन गरेको केन्द्रीय बैंकले आज (मंगलबार) थप २० अर्ब रुपैयाँ बराबरको एक वर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ज’ जारी गरेको हो।
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रमा अनलाइनमार्फत आवेदन दिन सकिनेछ। तर, यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम पाँच करोड रुपैयाँदेखि आह्वान रकमसम्म, पाँच करोड रुपैयाँले भाग जाने गरी आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्कासनको मितिमा सम्बन्धित काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा स्वीकृत बोल रकम रद्द गरिनेछ। साथै, त्यस्ता संस्थालाई २.५० प्रतिशत जरिवानासहित छ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले पहिलोपटक २०५३ सालमा ‘नेपाल राष्ट्र बैंक बन्ड, २०५३’ जारी गरेको थियो। लामो समय ऋणपत्रलाई प्राथमिकतामा नराखेको राष्ट्र बैंकले पछिल्लो समय भने तरलता व्यवस्थापनका लागि यसलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्न थालेको देखिन्छ।
प्रतिक्रिया