'पुनर्जीवन पाउन सक्ने उद्योगलाई थप ऋण दिन्छौँँ नसक्नेको धितो लिलाम गरेर उठाउँछौँ '

२०८२ वैशाख २८ गते

'पुनर्जीवन पाउन सक्ने उद्योगलाई थप ऋण दिन्छौँँ नसक्नेको धितो लिलाम गरेर उठाउँछौँ '

काठमाडौ । कुनै बेला निकै राम्रो मानिएको हिमालयन बैंकको अधिकांश वित्तिय विवरणमा प्रगति छैन । सिभिल बैंकलाई प्राप्ति गरेर बनेको हिमालयन बैंक पुँजीको आकारमा ठुलो बैंक बनेपनि बैंकको वासलात व्यवस्थापनको टाउको दुखाई बनेको छ । बाणिज्य बैंकमा यही बैंकको खराब कर्जा सबैभन्दा बढी छ । नाफामा पनि झिनो बृद्धि गरेको बैंकको समग्र वित्तिय अवस्थाले व्यवस्थापनले राम्रै मेहनत गर्नुपर्ने देखाउँछ । 
पछिल्लो समय अर्थतन्त्रमा केही सुधारको संकेत त देखिएको छ तर बैंकको ऋणको माग न्युन छ । यद्यपि केही बृद्धि भएको तथ्यांक बैकर्स संघको छ । बैकिङ क्षेत्रमा लामो समय काम गरिसकेका अशोक शम्शेर
राणा अहिले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) छन् । वाणिज्यपोष्टकी एलिजा उप्रेतीले सिईओ राणालाई सोधेकी छन्,

बैंकहरुको पछिल्लो वित्तिय विवरणले केही सुचकमा खस्केपनि अधिकांश सुचकमा सुधार देखिएको छ, कोभिड पछि अब चाहि बैंकिंङ अर्थतन्त्र लयमा आउने संकेत गरेको हो ? 

Advertisement:

Ad
Ad

बैंक अहिले नै ठिकठाक भएको होइन । बैंकहरुको  खराब कर्जा बढ्दै गइरहेको छ । हिमालयन बैंककै हेर्नुहुन्छ भने पनि बढी छ । अर्थतन्त्र चलायमान नभइसकेकाले  कोभिडका बेलामा दिएको कर्जा अहिले विस्तारै निस्क्रिय कर्जामा दर्ज भइरहेको छ । बैंकहरु आगामी बर्ष विस्तारै रिकभरीमा जान्छन् । बैंकहरुले जति प्रोभिजनिङ गर्नुपर्ने हो गरिसके । अब विस्तारै नन परफर्मिङ एसेट रिकभर हुदै जान्छ । यसले विस्तारै बैकिङ अर्थतन्त्र लयमा आउँछ । 

जति बिग्रनु बिग्रिसक्यो अब आगामी त्रैमास बैंकहरुले बबाल गर्नेवाला छन् भन्न खोज्नुभएको हो ? 
बैंकहरु बबाल हुन अझै २/३ वर्ष नै लाग्छ । मैले भन्न खोजेको बैंकहरुको रिकभरीमै २/३ वर्ष बित्छ ।

हिमालयन बैंककै कुरा गर्ने हो भने खराब कर्जा सबैभन्दा बढी छ । बैंकको कर्जा कुन क्षेत्रमा बढी फसेको छ ? 
सिभिल बैंक प्राप्ति गरेपछि हिमालयन बैंकको वित्तिय विवरणमा प्रभाव परेको हो । उहाँहरुको खराब कर्जा निकै धेरै रहेछ । उहाँहरुको धेरै जसो  साना तथा मझौला उद्यममा (एसएमईमा) कर्जा फसेको देखिएको छ । खराब कर्जा घटाउन र गैर बैकिङ सम्पत्ति (एनबिए) लिन अझै एक बर्ष लाग्छ । त्यो समय अझै बाँकी छ । यो सबै मिल्न करिब २ वर्ष लाग्छ । जति बढ्नु बढ्यो अब विस्तारै रिकभर तिर जान्छौ । मर्जरमा गएका केही बैंकलाई अप्ठेरो परेको छ ।  अर्थतन्त्र तल झरिरहेको बेला ऋणको पोर्टफोलियो पनि तल झरेको छ । 

तपाइँले नै भन्नुभयो बैंकको ऋण एसएमईमा फसेको छ तर बैंकहरुले ऋण प्रवाह गर्ने एउटा विश्वासिलो क्षेत्र एसएमई कै ऋण किन समस्यामा छन् ?
हामीले हेर्दा ऋणको मापदण्ड अलि कमजोर छ । लिएको ऋण  जुन क्षेत्रमा प्रयोग हुनुपर्ने हो त्यसमा नभएको पाइएको छ । एसएमईमा भनेर लिएको ऋण पनि अन्तै प्रयोग भएको हो की भन्ने पनि छ । त्यस्तो ऋण अरु ठाउँमा लगानी गरेर डुबेको जस्तो देखिन्छ । 

हिमालयनले खराब कर्जाको व्यवस्थापन कसरी गर्छ ? 
ऋण प्रवाह गर्दा राखेको धितोका घरजग्गाहरु अब लिलामी गछौँ  ।  हामीले थोरै ऋण सहयोग गरेर डुबेका एसएमईहरुले पुर्नजीवन पाउन सक्ने अवस्था छन भने फेरी केही ऋण दिएर अगाडी बढाउँछौ । तर जसले सक्तैन उसको चाहि धितो लिलाम गरेर भएपनि उठाउँछौँ । हामी रिकभरीबाट कमाउँछौँ । रिजर्भ पनि राम्रो छ । रिटेन्ड अर्निङ ठिकै छ । रिकभरी सफल भयो भने राम्रो लाभांश दिन सक्छौ । 

धितो लिलामी गर्दा पनि किन्न आउनेहरु भएनन् भनेर तपाई बैकर्सहरु नै भनिरहनुहुन्छ, यसो हुदा त फेरी पनि समस्या नै हुनेभयो  नी ?
 अहिले बजार धेरै अगाडी छैन । घरजग्गा कारोबार पनि बढेको छैन ।  अर्थतन्त्र केही अगाडी बढेको हो की देखिएपनि पूर्णरुपमा अर्थतन्त्र बढ्न नयाँ बजेट आउनुपर्छ । अहिलेसम्म हेर्दा पनि बजारमा बृद्धि नै छैन । 

सिभिल बैंककै कारण बैंकको धेरै जसो वित्तिय सूचक खस्केको यहाँले नै भन्नुभयो । तर अब सिभिल छैन हिमालयन छ मानिसहरुले हिमालयनकै वित्तिय विवरण खस्केको बुझ्छन्। यसो हुदा सिभिललाई मात्र दोष थोपारेर हिमालयन उम्कन पाउँछ ?
हाम्रो व्यवस्थापन समूह निकै सक्रिय र राम्रो छ । कहिलेपनि हामीले यस्तो अवस्था फेस गरेका थिएनौ । विस्तारै रिकभरी  भइरहेको छ । शाखाहरु पनि बढेको छ । यसो हुँदा समस्याको चाङ समाधान गर्न हामी सक्छौ । विस्तारै सुधार हुन्छ  । 

दुई बैंकको (सिभिल र हिमालयन) काम गर्ने संस्कार फरक भएको कारण आन्तरिक कलह बढेको हो ?
सिभिलका सिनियर व्यवस्थापन अहिले छैनन् । हामीले सबै कर्मचारीसँग समन्वय गरेर काम गरिरहेकाले समस्या भएको छैन ।  

अहिले कर्जा उठ्तीमा सबैभन्दा सकसको क्षेत्र कुन हो ? 
हामीले सहकारी क्षेत्रमा लगानी धेरै गरेका छैनौ । अहिले स्टिल सिमेन्ट सबैले सस्टेन गरिरहेको छ ।  एउटै क्षेत्रमा धेरै समस्या छ भन्ने होइन सबैमा अलि अलि समस्या छ । 

अहिले बैंकको ब्याजदर न्न्युन बिन्दु हुदा पनि  कर्जाको डिमाण्ड नै छैन नी ?
बैंकहरुको खराब कर्जाले गर्दा पुँजी खाइदियो । पुँजीको दबाब –क्यापिटल स्ट्रेस) भएपछि ऋण प्रवाह गर्न सक्तैनन । ऋणको माग पनि त्यस्तो धेरै छैन । निर्माण क्षेत्र अझै पनि समस्यामा छन् । बजेट आउन’ केही समय अघि तिर्न पर्ने पैसा जति तिर्ने भएकाले अब केही गतिविधि बढ्ला की ? आशा गरौँ, यसअघि पनि बजेटले कर बढाउला भनेर भुक्तानी गर्नुपर्ने रकम अगाडी नै बुझाउने गरेको देखिन्छ । 

बाणिज्य बैंकहरु नियामकीय कुन चाहि प्रावधानले समस्यामा परेका छन् ? 
 नेपाल सरकारको बजेट नै मूख्य कुरा हो । मौद्रिक नीतिले गर्न सक्ने सबै गरिसक्यो । अब वित्तिय नीतिको आवश्यक छ । सरकारले हामीलाई करमा पेलिरहेको जस्तो देखिन्छ । पुरानो करका केसहरु पेण्डिङ छन् । कतिपयले हारेका पनि छन् । सरकारलाई पनि आम्दानी छैन ।  सकेसम्म कसरी कर बढाउने भन्ने छ । अहिले हामीलाई ३० प्रतिशत कर आम्दानीमा लाग्छ  । खराब कर्जा जति बढ्यो त्यसमा पनि थप हुदै जान्छ । 

बैकिङ क्षेत्रको तपाइँको लामो अनुभवले वर्तमान आर्थिक अवस्थालाई कुन  स्तरमा पाउनु हुन्छ  ?
अहिले त सरकार नै छैन जस्तो भयो । कुन दिशामा जाने कुनै बाटो छैन । त्यही भएर पनि समस्या छ । 

बाफियाका विषयमा तपाइँको धारणा के छ ? 
बैंकमा संस्थापक सेयरधनी विस्तारै घटाउँदै लैजानुपर्छ । बैंकको सेयर ठुलो समुहमा हुनुपर्छ । हिमालयन बैंककै लकइन पिरियड ३० वर्षभन्दा बढी भइसक्यो । हामी जस्तो बैंकलाई लकइन पिरियड कहिले पनि हुनुहुँदैन ।