२०८२ वैशाख २० गते
काठमाडौ । नबिल बैंकको ब्याजदर ६ प्रतिशत भन्दा कममा झरेको छ । पछिल्लो समय समग्र बैंकहरुको आधारदर घट्दै गएपछि ब्याजदर निरन्तर घटिरहेको छ । गत पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ७.०२ प्रतिशत कायम भएकोमा वैशाखमा २० वाणिज्य बैंकहरुको औसत आधार दर ६.३५ प्रतिशतमा झरेको हो ।
बैंकहरुमा अधिक तरलताका कारण निरन्तर लागत कम हुँदै गएको छ । लागत कम हुँदा आधारदर पनि घटिरहेको हो । आधारदर घट्नु भनेको ब्याजदर सस्तो हुनु पनि हो । नबिल बैंकको गत पुसमा ६.३९ प्रतिशत आधारदर थियो । त्यसयता निरन्तर घटेर बैशाखमा ५.९७ प्रतिशत कायम भएको छ । माघमा ६.३१ प्रतिशत, फागुनमा ६.१७ प्रतिशत र चैतमा ६.०५ प्रतिशत आधारदर कायम भएको थियो । बेस रेटका आधारमा बैंकहरुले प्रिमियम थपेर कर्जा प्रवाह गर्छन् । प्रिमियम जोडेर ब्याजदर तय हुने भएकाले जति कम प्रिमियम भयो त्यति ब्याजदर सस्तो हुने सम्भावना हुन्छ ।
पछिल्लो समय वाणिज्य बैंकहरुले आधार दरमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्दै आएका छन् । १४ बैंकको आधार दर ६ प्रतिशतदेखि ७ प्रतिशतको बीचमा रहेको छ ।केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट ५५ खर्ब ०८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । बाणिज्य बैंकहरुबाट ४९ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
प्रतिक्रिया