नबिल बैंकको निक्षेप संकलन ५ खर्ब १३ अर्ब नाघ्यो, सिडि रेसियो ८३ प्रतिशत

२०८२ जेठ ३१ गते

नबिल बैंकको निक्षेप संकलन ५ खर्ब १३ अर्ब नाघ्यो, सिडि रेसियो ८३ प्रतिशत

काठमाडौ । चालु आर्थिक बर्ष २०८१/ ०८२ को ११ महिनामा नबिल बैंकको निक्षेप संकलन ९.५५ प्रतिशतले बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (२०८१–८२ )को साउनदेखि जेठ मसान्तसम्ममा निक्षेप संकलन साढे ९ प्रतिशतभन्दा बढीले बढेको हो ।

गत असार मसान्तमा ४ खर्ब ६८ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको नबिलले चालु आवको जेठमसान्तसम्म आइपुग्दा ५ खर्ब १३ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेको हो । उसो त नबिल मात्र होइन समग्र बाणिज्य बैंकको निक्षेप संकलनमा बढोत्तरी छ । चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ८.७५ प्रतिशतले बढेर ६२ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुले ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । यसअवधिमा एनआइसी एसिया बाहेक अरु सबै बैंकको निक्षेप संकलन बढेको हो । यसले आर्थिक गतिविधिमा सामान्य सुधार देखिन थालेको संकेत गरेको छ ।

Advertisement:

Ad
Ad


 नबिलको निक्षेप मात्र होइन कर्जा लगानीमा पनि बढोत्तरी छ । यसले कर्जा लगानी साढे १० प्रतिशत भन्दा बढीले बृद्धि गरेको छ । जेठमसान्तसम्म नबिलको कर्जा लगानी ४ खर्ब २९ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । जबकी गत असार मसान्तसम्म ३ खर्ब ८८ अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रबाह भएको थियो । यसैकारण अन्य बैंकको जस्तो अधिक तरलताको दबाव नबिललाई देखिएको छैन ।

यसको कर्जा निक्षेप अनुपात (सिडि) रेसियो ८३.५९ प्रतिशत रहेको छ । पछिल्लो समय अधिक तरलताको चाप बढ्दै गएकाले सीडी रेसियो न्यून बिन्दुमा आइरहेको बेला नबिलले भने यस्तो दबावलाई व्यवस्थापन गरेको देखिन्छ । बैंकले संकलन गरेको निक्षेपको ९० प्रतिशतसम्म लगानी गर्न पाउने अवस्था भएपनि केही बैंकको सिडि रेसियो ६४.३१ प्रतिशतमा झरेको छ । यसलाई आधार मान्ने हो भने तुलनात्मक रुपमा नबिल  सहज अवस्थामा देखिन्छ । यद्यपि यस बैंकसँग अझैपनि लगानी गर्न मिल्ने प्रशस्त रकम भने रहेको  देखिन्छ ।

बैंकहरुमा निक्षेपका रुपमा जम्मा भएको रकममध्ये कति ऋणमा  प्रयोग गरिएको छ भन्ने कुरा क्रेडिट टु डिपोजिट अर्थात सीडी रेसियोले देखाउँछ । यसमा बैंकहरुले लिएको वैदेशिक ऋण, राष्ट्र बैंकबाट प्रदान गरिएको पुनर्कर्जा, बैंकहरुले जारी गरेको ऋणपत्रबाट प्राप्त भएको रकमलाई पनि निक्षेपका रुपमा गणना गर्न मिल्छ ।