मध्यपूर्वको तनावले थलिन सक्छ देशको अर्थतन्त्र, असर कम गर्न सरकारले के गर्दैछ ?

२०८२ चैत ०२ गते

मध्यपूर्वको तनावले थलिन सक्छ देशको अर्थतन्त्र, असर कम गर्न सरकारले के गर्दैछ ?

काठमाडौं । अमेरिका—इजरायल र इरानबिचको तनाव तत्काल रोकिने सम्भावना न्युन छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरू गरेर भएको  तनाव झन उग्र बनेको छ । 


होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने जहाजहरूमाथि इरानको अवरोध जारी रहेसँगै विश्व ऊर्जाबजारमा यसको असर गहिरिँदै गएको छ । होर्मुज तेल ओसारपसारका लागि अत्यन्तै महत्वपूर्ण मार्ग मानिन्छ । यो सँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य एकाएक ४० देखि ५० प्रतिशतसम्म उक्लिएको छ ।नेपालमा पनि पेट्रोलियम पदार्थको भाउमा बृद्धि भइसकेको छ । खाना पकाउने ग्यासको अभाव छ भने महंगी समेत बढीरहेको छ । 

Advertisement:

Ad
Ad


विशेषगरी इन्धनको खानी मानिएका यी देशको तनावले नेपालजस्तो आयातित अर्थतन्त्रमा धक्का लाग्ने देखिएको छ । यद्यपि उक्त युद्ध तत्काल मत्थर भए असर धेरै नपर्ने विज्ञहरु बताउँछन् ।


मध्यपूर्वको व्दन्द जारी रहे नेपालमा महंगी बढ्ने, कृत्रिम अभाव चुलिने, र आपुर्ति शृङ्खलाको अवरोधले समग्र आर्थिक बृद्धिदरमै धक्का पुग्ने विज्ञहरु बताउँछन् ।  नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको करिब २५ प्रतिशत हिस्सा छ । उक्त रेमिट्यान्सको मूख्य स्रोत नै खाडीमुलुक जाने नेपाली कामदार हुन् ।  मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान, जोर्डन, टर्की, इरान, इराकलगायतका १६ मुुलुकहरुलाई खाडी तथा मध्यपूर्वी मुलुकको संज्ञा दिने गरिएको छ । यी देशहरु अहिले अमेरिका—इजरायल र इरानबिचको तनावको भुमरीमा छन् । 


खाडी मुलुकमा रहेका अमेरीकी सैन्य बेसक्याम्प इरानको निशानामा परेको छ । यसकारण पनि उक्त क्षेत्रमा बस्ने नेपालीहरुको सुरक्षाले तर्साएको छ ।  विभिन्न अन्र्तराष्ट्रिय अध्ययनहरुले पनि तेलको मूल्य बढ्दा महंगी बढ्ने र आर्थिक बृद्धि प्रभावित  हुने देखाएको छ ।

 

महंगी र बेरोजगार बढ्छ, आर्थिक बृद्धिद्धर खुम्चिन्छ: डा. गुणाकर भट्ट, अर्थशास्त्री 


अर्थविद् डा. गुणाकर भट्ट मध्यपूर्वको तनावले नेपालको अर्थतन्त्र नै प्रभावित हुने बताउँछन् । उनी भन्छन्, ‘२५ प्रतिशतले तेलको मूल्य बढ्ने वित्तिकै एक प्रतिशत विन्दुले महंगी बढ्छ । महंगीमा प्रत्यक्ष असर देखिन्छ ।  सप्लाइचेन प्रभावित हुने अवस्था आउनसक्छ । यहिबेला कृत्रिम अभाव सृजना हुन्छ ।’  


गरीबी र आय असमानता व्यापक बढ्न सक्छ भने अभाव सृजना समेत हुन सक्ने अवस्था आउने डा. भट्ट बताउछन् । उनका अनुसार नेपालका करिब ४० प्रतिशत श्रमिक मध्यपूर्वमा छन् । हरेक वर्ष ५ लाख श्रम बजारमा थपिन्छन् । बाहिर जान छोडेपछि त्यसको व्यवस्थापनमा समस्या हुन्छ ।


नेपालले पुर्ननिर्माण गर्ने तयारी गरे पनि पुर्ननिर्माण र पुर्नसंरचनामा जान कठिन देखिएको बताउँदै भट्ट भन्छन, ‘पुर्ननिर्माण नहुने वित्तिकै आर्थिक कृयाकलाप  घटाउँछ । पर्यटन, मल आयात प्रभावित हुन सक्छ । करिब आधा जति मल मध्यपूर्वबाट आउछ ।’


चीन, जापान, साउथ कोरियाले ३ महिनाको इन्धन स्टक राखेका छन् अब  नेपालले पनि सुरक्षित तबरले स्टक क्षमता बढाउँनुपर्छ । अबको सरकारले मौज्दात व्यवस्थापनका लागि पूर्वाधार बनाउँनुपर्ने भट्ट बताउँछन् ।  

 

खाडीमा बस्ने नेपालीले सुचना पाएनन्, मिसाइल खस्दा पनि भुइँचालो  आएको सोचे: रामेश्वर नेपाल, श्रम विज्ञ


श्रमविज्ञ रामेश्वर नेपालले मध्यपूर्वमा बस्ने नेपालीलाई उक्त देशको  सरकारले विभेद गरेको पाइएको बताएका छन् । उक्त क्षेत्रमा बस्ने नेपालीको अवस्थाको विषयमा अध्ययन गरिरहेका रामेश्वर नेपालले नेपालीहरु घरभित्र बसिरहेको अवस्थामा मिसाइल खसेको बेला भुइँचालो आएको जस्तो महशुस गरेको तर के हो भन्ने एकिन नभएकाले घर बाहिर निस्कने की घर भित्रै बस्ने भन्ने सुचना नपाएको बताए । 


श्रमविज्ञ नेपालको भनाई जस्ताको तस्तै.......
नेपालबाट गएका श्रमिकलाई उक्त देशमा दोस्रो दर्जामा राखेको पाइएको छ । सुरक्षित  रहने मामलामा पनि पहिले नागरीक त्यसपछी आप्रवासीले प्राथमिकता पाएको देखियो । हाम्रो समुहले विभिन्न क्षेत्रमा अध्ययन गरिरहेको छ । मिसाइल झरेको बेला उनीहरुलाई  भुइँचालो आएको महशुस भएको उनीहरुको कुराकानीमा भनेका छन् । आफ्नो देशका नागरिकमा सुरक्षा छ तर विदेशी नागरिकको हकमा विभेदकारी देखिएको छ । नेपालको बेरोजगारको समस्या वैदेशिक रोजगारले केही हदसम्म समाधान गरेको छ । धेरैजसो बाध्यताले गएका छन् । थोरै मात्र रहरले गएका छन् । चाहेको बेला काम छोड्न नपाउने अवस्था छ ।  कतिपय नेपालीलाई स्वदेश फर्किन पाउछु की पाउदिन भन्ने चिन्ता छ । नेपालीहरु प्यानिक अवस्थामा छन् । नेपाल सरकारले सुरक्षित बस्नु  भनेको छ तर कसरी भन्ने खुलाएको छैन । हामीले धेरैसँग कुरा गर्दा कम्तीमा सुचना समयमै आउनुपर्यो । अझ दैनिक आफुलाई र  नेपालमा रहेका परिवालाई पनि सुचना दिनुपर्यो भन्ने खाडी मुलुकमा रहेका नेपालीहरुको चाहना देखियो । 


आपतमा परेकाको उद्धार हुन्छ, स्वदेश फर्किए भने उद्यमशीलतामा सरकारले सहजीकरण गर्छः अर्थमन्त्री रामेश्वर खनाल 


अर्थमन्त्री रामेश्वर खनालले मध्यपूर्वको असर नेपालमा  धेरै पर्न नदिन विभिन्न सावधानीका उपायहरु अपनाएको बताएका छन् । तत्कालै बिचल्लीमा परेका नागरीकको उद्धारका लागि अर्थले  पैसा रिलिज गरेको  खनालले बताए । 


कतिपयलाई फर्काएर नेपाल पनि ल्याउनुपर्ने अवस्थामा पनि कठनाइ नहोस भनेर ध्यान दिएको उनले भने । खनाल भन्छन, ‘आपुर्ति श्रृङ्खलालाई ध्यान दिएका छौ । चीनको कुल खपतको करिब ४५ प्रतिशत तेलको आयात हुने ठाउँमा समस्या छैन भारतको पनि छैन्  । तेल उत्पादनशिल अर्थतन्त्रको लागि चाहिने कच्चा पदार्थ मध्यको सबैभन्दा महत्वपूर्ण हो ।’ 

चिनले आयात गरेको तेलमा इरानले आक्रमण नगर्ने भएकाले चिन र भारतको आपुर्ति श्रृङखला अबरुद्ध नभएसम्म नेपाललाई समस्या नहुने उनले भने । 


यदि मध्यपूर्वका नेपाली स्वदेश फर्किन चाहेमा पनि उनीहरु उद्यममा लाग्ने र त्यसका लागि सरकारले सहजीकरण गरिदिने उनले बताए ।