२०८२ असार ११ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफुसँग १७ करोड रुपैयाँ भन्दा बढी सम्पति रहेको सार्वजनिक गरेका छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुरुप उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले सात कम्पनीमा १४ करोड बढी सेयर लगानी रहेको घोषणा गरेका छन् ।
विभिन्न कम्पनीमा संस्थापक सेयरधनी समेत रहेका छन् । सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त उर्जा हाइड्रोपावर, चितवन इनर्जी र ग्लोबेको प्रालिमा प्रवर्द्धकका रुपमा कुल १४ करोड ५ लाख ६७ हजार रुपैयाँ सेयर रहेको उनले सार्वजनिक गरेको विवरणमा देखिएको छ ।
पौडेलले आफ्नो र आफ्नो श्रीमती प्रतिभा शर्मा गरी कुल २० लाख बढी विभिन्न बैंकमा बचत रहेको बताएका छन् भने सानिमा बैंकमा डलर खातामा साढे ५ हजार अमेरिकी डलर रहेको घोषणा गरेका छन् । श्रीमती प्रतिभा शर्माको नाममा नवलपरासी र ललितपुरमा घरजग्गा रहेको उल्लेख गरेका छन् । उनले १ करोड ५५ लाख रुपैयाँको ललितपुरको जग्गाको मुल्य राखेर विवरण सार्वजनिक गरेका छन् । नवलपरासीको जग्गाको मूल्य ६० लाख रुपैयाँ रहेको भनेका छन् ।
श्रीमती शर्माको नाममा ४४ लाख रुपैयाँ बराबरको सुजुकी कार रहेको पनि घोषणा गरेका छन् । विवरणमा ४५ तोला सुन भएको पनि खुलाएका छन् ।
प्रतिक्रिया