घोराही सिमेन्टले छलछाम गरी महंगो मूल्यमा सर्वसाधरणलाई सेयर भिडाएको खुलासा, यसरी देखाएको थियो नाफा

२०८२ जेठ ०५ गते

घोराही सिमेन्टले छलछाम गरी महंगो मूल्यमा सर्वसाधरणलाई सेयर भिडाएको खुलासा, यसरी देखाएको थियो नाफा

काठमाडौ । पछिल्लो समय उद्योगहरुले नाफामा लगातार बृद्धि भएको कागजी विवरण देखाएर महंगो मूल्यमा आईपिओ जारी गर्ने गरेको खुलासा भएको छ ।  

 

Advertisement:

Ad
Ad

आइपिओ जारी गर्नुअघि एक खालको वित्तिय विवरण देखाउने ती कम्पनीको आइपिओ जारी पश्चात लगातार वित्तिय विवरण खस्किएको प्रतिवेदन सार्वजनिक हुने गरेको छ । यसको उदाहरण हो घोरही सिमेन्ट । केही समय अघि महंगो मूल्यमा सेयर जारी गरेको घोराही सिमेन्टले पनि छलछाम पुर्वक नाफा देखाएर सर्वसाधारणलाई महंगो मूल्यमा सेयर भिडाएको खुलासा भएको छ ।

 

घोराहीले प्रति सेयर ३३५ प्रिमियम थप गरी प्रति सेयर ४३५ का दरले ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर बेचेको थियो । उक्त सेयर जारी गर्नुपुर्वक घोराहीले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने महसुल १ अर्ब २४ करोड १३ लाख र कर दायित्व  १ करोड ४८ लाखसमेत गरी १ अर्ब २५ करोड ६१ लाख २०७८. ७९ मा कन्टिन्जेन्ट दायित्वतर्फ देखाई खर्च नियोजनबाट उद्योग नाफामा देखाएर प्रिमियममा सेयर निष्कासन गरेको पाइएको छ । जसलाई  सरकारी निकायको लेखापरिक्षण गर्ने (अडिट) सँस्था महालेखा परिक्षकको कार्यालयले औचित्यहिन भनेको छ  । जबकी धितोपत्रको प्रारम्भिक निष्कासन धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम २५ अनुसार प्रिमियममा धितोपत्र निष्कासन गर्दा प्रिमियम मूल्य निर्धारण गर्ने विधि र औचित्य पुष्टि हुनुपर्ने व्यवस्था छ । तर यस कम्पनीले भने कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी उद्योगको तर्फबाट खर्च लेख्नुपर्नेमा कोषमा आबद्ध नगरी तथा ह्रास खर्चसमेत न्यून लेखी नाफामा वृद्धि गरेको देखिएको छ । घोराहीले लगानीकर्तालाई यस्तो अन्याय गरेको भन्दै नागरिकमा परेको प्रभावको छानविन गर्न महालेखाले नियामकलाई भनेको छ । 


घोराहीले २०८० जेठमा सेयर जारी गरेको थियो ।  जसमा सामुहिक लगानी कोष, बैदेशिक रोजगारमा गएकाहरुलाई, आयोजना प्रभावित र कर्मचारीलाई बाडेर बाँकी रहेको कुल ६९ लाख ११ हजार ६७० कित्ता सर्वासाधारणलाई बिक्रि गरेको थियो । सेयर जारी गरेयता लगातार घाटामा गएको सिमेन्ट  चालु आर्थिक वर्षको (२०८१/०८२) तेस्रो त्रैमाससम्म ५५ करोड ४३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । कम्पनीहरुले सर्वसाधारणलाई आइपीओ जारी गरेपछि घाटामा गएको रिपोर्ट सार्वजनिक गर्न थालेको हो । आजको दिनमा (सोमबार जेठ ५) यसको सेयर मूल्य ४९६ रुपैयाँ छ । 


प्रतिष्ठित व्यावसायिक घराना त्रिवेणी र विशाल ग्रुपको लगानीमा सञ्चालित घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले आइपिओ जारी गर्नुअघि निकालेको  तीन वर्षको प्रक्षेपित वित्तिय विवरणमा लगातार नाफामा जाने भनिएको थियो । त्यतिबेला आर्थिक वर्ष २०८१÷८२ मा उद्योगको खुदनाफा ९७ करोड ६३ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको थियो । नाफा वृद्धिसँगै उद्योगको प्रतिसेयर आम्दानी पनि बढ्ने भनिएपनि चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनी ५५ करोड घाटामा छ । अहिले यसको प्रतिसेयर आम्दानी १२.१४ रुपैयाँ ऋणात्मक छ । जबकी सेयर जारी गर्नुपुर्व २४.५८ रुपैयाँ पुग्ने अनुमान उद्योगको थियो।

घोराहीले नवलपरासी सुनवल नगरपालिका-९ मा उद्योग स्थापनाका लागि उद्योग विभागबाट २०७८ कात्तिक २३ मा घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड, सिमेन्ट प्याकेजिङ–१ नामक उद्योग स्वीकृति गरेको थियो ।