राष्ट्र बैंकमा थुप्रिएको विदेशी मुद्राबारे गभर्नर भन्छन् 'यो हाम्रो सम्पत्ति हो, सम्पत्ति छ भन्दैमा ऋण चाहिदैन भन्ने हुँदैन'

२०८२ माघ २७ गते

राष्ट्र बैंकमा थुप्रिएको विदेशी मुद्राबारे गभर्नर भन्छन्  'यो हाम्रो सम्पत्ति हो, सम्पत्ति छ भन्दैमा ऋण चाहिदैन भन्ने हुँदैन'

काठमाडौं । नेपाल राष्ट्र बैंकमा थुप्रिएको विदेशी मुद्रा सञ्चितीबारे धेरैको चासो देखिएको छ । नेपाल सँग यति धेरै रकम हुदा हुदै किन ऋण लिनुपर्यो भन्ने जस्ता अभिव्यक्ति पनि सुनिन्छ ।

विदेशी मुद्रा नचलाई ऋण लिएको विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले स्पष्ट पारेका छन् । अर्थमन्त्रालयद्धारा आयोजित एक कार्यक्रममा गभर्नर पौडेलले विदेशी मुद्रा राष्ट्रको सम्पत्ति भएकोले यसबाट लाभ लिइरहेको बताएका छन् ।

Advertisement:

Ad
Ad

उनले भने, विदेशी मुद्रा सञ्चिती (फरेक्स)  सम्पत्ति जस्तै हो । यसबाट हामीले लाभ लिइरहेका छौ । अहिलेपनि हामीसँग भएको रिजर्भ ४ प्रतिशत ब्याजदर आउने गरी राखेका छौ । 

गत वर्ष सरकारले विदेशी मुद्रा सञ्चितीबाट १ खर्ब ९२ अर्ब कमाएको थियो । विदेशी मुद्रा सञ्चिती नै खर्च नगरेर किन ऋण लिएको भन्ने प्रश्नमा पौडेलले जतिसुकै धनी व्यक्ति र राष्ट्र भएपनि उनीहरुले सम्पत्ति बेचेर भन्दा पनि ऋण लिएर काम गर्ने गरेको बताउँछन् । ऋण लियो भन्दैमा आत्तिनु नपर्ने उनको भनाई छ । 

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको ६ महिनासम्मको तथ्यांक हेर्ने हो भने कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १७ करोड पुगेको छ ।  यो भनेको देशको  करिब  दुई आर्थिक वर्षको बजेट बराबर हो । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।