२०८२ असार २४ गते
नेपाली बजारमा उपभोक्ता र बिक्रेता बीचमा जहिले पनि मूल्य र गुणस्तरमा द्वन्द्व चल्न गरेको छ । उपभोक्ताको मानसिकतामा व्यापारीको उद्देश्य नै ठगी गर्ने रहन्छ भन्ने परेको छ भने व्यापारी चाहिँ मालवस्तुले उचित मूल्य कहिल्यै नपाएको गुनासो गर्छन् । आरोप–प्रत्यारोपको अनन्त श्रृङ्खला निरन्तर छ । निन्तर अनुगमन र नियमनबाट बजारलाई स्वच्छ बनाउन, उपभोक्ताको हित संवद्र्धन गर्न र व्यापार व्यवसायलाई मर्यादित बनाउन बाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग सक्रिय छ । बजारको विषयमा उजुरी आएपछि मात्रै अनुगमनमा निस्कने गरेको भनेर विभागप्रति धेरैको असन्तुष्टि पनि छ । बजारलाई व्यवस्थित र मर्यादित बनाउन विभागको भूमिका पर्याप्त नभएको टिप्पणी पनि धेरैले गर्छन् ।
पछिल्लो समय बाणिज्य विभागले उपभोक्ता ठगिने अवस्थाको अन्त्य गर्ने उद्देश्यले हरेक वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्ने प्रयास गरिरहेको छ । विक्री भएका सामानको अनिवार्यरूपमा बिलविजक जारी गराउने प्रयास पनि भइरहेको छ । नेपाली बजारको अवस्था र सुधारका प्रयासका सम्बन्धमा केन्द्रित रहेर बाणिज्यपोष्ट इकोनोमिक म्यागेजिनले बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालसँग वाणिज्यपोष्टकी एलिजा उप्रेतीले गरेको कुराकानीको सम्पादित अंशः
आठ वर्षपछि फेरि बाणिज्य तथा आपूर्ति विभागको नेतृत्वमा फर्कनुु भएको छ । त्यति बेलादेखि अहिलेसम्म आइपुग्दा यो बीचमा विभागको भूमिका कस्तो पाउनुभयो ?
बजार त्यतिखेर पनि संस्थागत थिएन, अहिले पनि छैन । हाम्रो बजार उपभोक्तामैत्री हुनै सकेन । यसो नहुनुमा उपभोक्ता र बिक्रेताबीचको पारदर्शीताको ग्याप हो । चाहे त्यो बिक्रेताले बिक्री गरेका वस्तुको वारेन्टी÷ग्यारेन्टीका कुरा हुन् अथवा मात्राका वा मूल्यका विषय हुन्, कुनैमा पनि पारदर्शिता छैन । जबसम्म पारदर्शिता हँुदैन तबसम्म बजारलाई संस्थागत भएको मानिदैन । यो ६÷७ वर्षको दौरानमा बजार हाम्रो नियन्त्रणभन्दा बाहिर गएको हो की जस्तो देखिन्छ । बजारमा अत्याधिक ‘कार्टेलिङ’ भएको हो की जस्तो देखिन्छ । हामीले निजी क्षेत्रलाई झन् धेरै सहजीकरण गरिरहेका छौँ । बजार संस्थागत हुन र उपभोक्तामैत्री हुन अझै समय लाग्छ ।
बजारलाई संस्थागत बनाउन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले के गर्दै छ ?
बजारलाई संस्थागत र व्यवस्थित गर्न अधिकतमा खुद्रा मूल्य (एमआरपी) लागू गर्न खोजिरहेका छौँ । त्यसले बजारलाई पारदर्शी बनाउँछ की भनेर लागेका छौँ ।
.jpg)
एमआरपी लागू गर्न व्यवसायीहरु मानिरहेका छैनन् । विभिन्न कारण देखाएर उनीहरू पन्छिइरहेका छन् । व्यवसायीको असहयोग हुँदा एमआरपी कार्यान्वयन होला र ?
एमआरपी भनेको अधिकतम खुद्रा मूल्य हो । आयात गरेको मालवस्तुको अधिकतम मूल्य निर्धारण गर्नु एमआरपी हो । यसमा बाणिज्य विभाग वा सरकारी पक्षबाट कुनै पनि नाफामा मूल्य तोक्दैनौँ । एमआरपी लगाउदैनौँ भनेर व्यवसायीले भन्छन् भने हाम्रो बजार अनौपचारीक छ भन्ने प्रमाणित हुन्छ । बजार ग्रे एरियामा चलिरहेको छ, बजारमा चोरीका मालवस्तु धेरै आएको छ भन्ने बुझ्नु पर्ने हुन्छ । तत्कालिन रूपमा एक दुईजना रोजगारी थपिएलान् र त्यसले उनीहरुको लागत अलिकति बढ्ला तर यसले नाफा पनि सुनिश्चित गर्छ । हामी एमआरपी लागू गर्न सक्तैनौँ भन्नु उनीहरुको घुर्की हो । यदि कर लगाउनुपर्ने भन्दा बढी लियो भने त्यसमा पुनरविचार गर्ने अवस्था होला तर एमआरपीले त भएको ट्याक्सलाई पनि समावेश गरिदिन्छ । भन्सार, नाफा, खुद्रा व्यापारी र डिलरको कमिसन, जोखिम, गोदाममा लाग्ने करलाई त्यसमा समावेश गरिदिन्छ । किन एमआरपी बढी राख्नुभयो भनेर प्रश्न गर्दैनौँ तर गुनासो आयो भने चाहिँ हामीले हेर्नुपर्छ । स्वभाविक मूल्य वृद्धिमा त हामीले प्रश्नै गरेका छैनौँ ।
बजारमा एमआरपी लगाउने कुरा दण्डात्मक नभएर सच्याउने तरिकाले गएका छौँ । जस्तो हामीले अनुगमन गरेको रेकर्ड हेर्नुभयो भने दशवटामा गरेका छौँ भने दुई तीनवटालाई मात्र कारबाही भएको छ । बाँकीलाई करेक्सन गरेर सामान्य निर्देशन दिएर फर्केका छौँ । म आएको नै चार महिना भयो । एमआरपी लागू गराउने भनेर दौडिरहेको छु । जसले एमआरपी लगाउदैनौँ भन्नुहुन्छ उसैको उत्पादनमा बढी अनुगमन हुन्छ । बिहानको पहिलो अनुगमन नै उनीहरुबाट हुन्छ । ऐन आएको २०७५ सालमा हो । सात वर्ष अघिदेखि लागू गर्नुपर्ने विषय अहिले कार्यान्वयन गरौँभन्दा हामी सक्तैनौँ भन्न मिल्दैन । अहिले पनि ग्राहकले तिरिरहेको मूल्य कम त छैन । स्वभाविक मूल्य वृद्धिको पैसा पनि केही नभनि तिरिरहेका छन् । ती ग्राहकलाई सुविधा खोइ त ? त्यही उपभोक्ताले तिर्ने पैसा पारदर्शी गरिदिनु भनेको मात्र हो हामीले । अब १५–२० दिनपछि त अनिवार्य बिलबिजक जारी गर्दैछौँ । यसका लागि सर्कुलर जारी गर्दैछौँ । एमआरपी पनि दुई÷तीन चरणमा लगाउँछौँ । अहिले लगाएको भनेको आयातित वस्तुमा हो । रिटेलर, डिलर, खुद्रा पसलमा पनि सँगसँगै एमआरपी कार्यान्वयन गर्दै जान्छौँ।

पहिलो चरणको एमआरपी लागू हुुनुपर्ने भनेर सूचना त जारी गर्नुभयो तर अनुगमन चाहिँ गर्नुभएको छ की छैन ?
आयातकर्ता र आयातित वस्तुमा स्रोतमा एमआरपी लाग्छ । एमआरपी लागू गर्दैनौँ भन्यो भने चोरीको मालवस्तु बिक्री भइरहेको छ भन्ने बुझ्छौँ । अब रिटेलर र डिलरकोमा पनि जान्छौँ र विलबिजक पनि जारी गर्छौँ । बजार सुधार गर्नुपर्छ भने त्यसमा राजनीतिकरण गरिनु हुँदैन, कानुनको पालना गर्नुपर्छ ।
बिलबिजक जारी गर्दा क्रेता र बिक्रेतालाई कस्तो फाइदा हुन्छ ?
यसमा फाइदै फाइदा छ । बिलबिजक जारी गरेपछि व्यापारीले प्रत्येक आइटममा तिर्ने ट्याक्स राज्यको ढुकुटीमा जान्छ । बिलबिजक जारी गर्दा सरकारको आम्दानी बढ्छ । अहिले इन्टिग्रेटेड मार्केटमा हेर्नुस् सामान किनेपछि तुरुन्तै बिल दिन्छन् र सामान पनि एमआरपीमै बिक्री गर्छन् अथवा छुटमा जारी गर्छन् । अहिले ५० प्रतिशत बाहिरबाट ल्याइएका सामान बिक्री भइरहेको छ । यसको कर त राज्यको कोषमा पुग्ने भयो । अर्थतन्त्रको दायरा बढाउँछ । कालोबजारी, चोरी बजारी, नक्कली एक्जिम लिएर छिरेका वस्तुलाई नियन्त्रण गर्न सकिन्छ । एमआरपी लागू गर्नु भनेको ट्याक्सको दायराभित्र ल्याउनु पनि हो ।
थोरै मूल्यको सामान किन्यो भने व्यापारीले बिल दिनै मान्दैनन् । कति मूल्यको सामान विक्री गर्दा बिलबिजक जारी गर्नु अनिवार्य हो ?
मकै पोलेर बेच्ने वा त्योभन्दा तलको साधारण मान्छेसँग बिल माग्ने हो भने पाउन सक्ने अवस्था रहँदैन । तर, जुन व्यवसाय दर्ता भएर चलेका छन् ती व्यवसायले जतिसुकै मूल्यको वस्तु तथा सामान बिक्रीमा बिलबिजक जारी गर्नुपर्छ । लिने पनि डिजिटल बिल नै हो । हामी इकमर्शतिर गइरहेका छौँ ।
बिलबिजक जारी नगर्नेलाई के कारबाही हुन्छ ?
यदि हामीले सूचना निकालेपछि पनि बिल जारी नगर्नेहरुलाई २ देखि ३ लाख रुपैयाँसम्म जरिवाना हुन्छ । किनभने यो क्षम्य छैन । पैसा लिएपछि बिल किन नदिने भन्ने हो । बजारलाई संस्थागत र औपाचारिकतातर्फ लाने हो भने बिलबिजक अनिवार्य हुन्छ ।
तपाईँहरूले केही समयअघि केही ठुला स्कूलहरूमा छापा मार्नुभएको थियो । अभिभावकहरू विद्यालयमा असाध्यै धेरै पैसा तिर्न बाध्य छन् । छोराछोरीको पढाइ र भविष्यको विषय भनेर बोल्न सकेका छैनन् । अब उनीहरूले राहत महसुस गर्छन् ?
विद्यालयले अभिभावक ठग्ने परम्परा बसिसकेको छ । त्यसमा अभिभावक पनि जिम्मेवार छन् । जति भन्यो उति तिर्यो, बोल्न पनि सक्नुहुन्न । स्थानीय तहका विद्यालयको निरगानी उनीहरुको जिम्माको विषय हो । तैपनि हामी ति पालिकासँग समन्वय गरेर अनुगमन गरिरहेका छौँ । कुनैपनि पालिकाले मूल्य बढी भयो भनेर मुद्दा दायर गरेको अहिलेसम्म कहीँ कतै सुनेका छैनौँ । तर, शुल्क लाखौँ रुपैयाँ उठाइरहेका छन् । उपभोक्ता संरक्षण ऐन २०७५ मा पनि वस्तु वा सेवा सञ्चालन गर्ने निकायले आफूले सञ्चालन गर्ने वस्तु वा सेवाको मापदण्ड, मूल्य नियमन गर्ने निकायबाट मापदण्ड बनाई लागू गर्नुपर्नेछ भनिएको छ । यसको अर्थ स्थानीय पालिकाबाट विद्यालयले सबै शुल्कका लागि स्वीकृति लिनुप¥यो । अन्र्तराष्ट्रिय सम्बन्धन भनेर पैसा उठाइरहेका छन् त्यो सम्बन्धनका विषयमा पनि पालिकाले हेर्नुपर्छ । अहिले हामीले स्कुलको मापदण्ड कस्तो छ भनेर जाँच गरेका हौँ । ३० वटा स्कुल अनुगमन ग¥यौ र कतिपयमा खराबी देखिसकेको छ । त्यस्ता स्कुललाई गर्ने भनेको दण्ड जरिवाना नै हो । हामीले तीनवटा पालिकालाई लेखेर पठायौँ । धेरैले उत्तर समेत दिइसक्नु भएको छ । हामी पालिकासँग समन्वय गरेर अगाडि बढेका छौँ । राजस्वसँग पनि समन्वय गरेका छाँै । धेरै विद्यालयले करोडौँ रकम उठाउनु भएको छ तर साधारण प्यानमा दर्ता भएको देखिन्छ । त्यसको थ्रेसहोल्डको विषयमा बुझिरहेका छौँ । स्कुलहरुले आफ्ना भएको कागजात पेश गरिसकेका छन् । यसको भेरिफाइ पालिकाबाट गरिरहेका छौँ । अभिभावक कतै उजुरी गर्दैनन् । निजी क्षेत्रमा जे पनि गर्न सक्छौँ भन्ने धारणा पैदा भइसक्यो । स्वाश्थ्यमा त पुगेकै छैनौँ । उदारवाद अर्थतन्त्रको सीमा कति हुने कति नहुने भन्ने हो ।
अहिले सुनचाँदीको विषय जल्दोबलदो छ, सुन चाँदीमा जर्ती लगाउँनुपर्ने आवश्यकता छैन तर त्यसको फाइदा लिइरहेका छन् भन्ने विषय पनि छ । सुनचाँदी व्यवसायीले उपभोक्तालाई खुलेआम ठगिरहेको विषयलाई कहिलेसम्म नजरअन्दाज गर्ने हो ?
अघि हामीले कुरा गरेजस्तै स्कुल र मालवस्तुको जुन हालत हो जर्तीको हालत पनि त्यही हो । धेरैपटक सुन व्यवसायी विरुद्ध मुद्दा चलेको थियो । अहिले पनि केही सुन व्यवसायीका विरूद्धमा मुद्दा चलिरहेका छन् । जर्तीको निर्देशिका बनाउने भनेर त्यतिबेला देखिनै भन्यौँ तर सकेका छैनौँ । अर्को कुरा कति प्रतिशत जर्ती लिने/नलिने भन्ने विषय गाउँघरमा परम्परागत रूपमा चलिआएको सुनचाँदी कारोबारको जस्तै भयो । यसको कुनै मापदण्ड छैन । यो विषयमा राष्ट्रिय राजनीति र राष्ट्रिय नीति दुवै फ्यूजन भएको छ । राजनीति र नीतिको स्वार्थ मिसिएपछि बाणिज्य एक्लैले केही गर्न सक्तैन । म स्विकार्छु, हामीमा त्यो विज्ञता छैन । जबसम्म स्वार्थ वा बजारको सीमा राख्छौँ त्यतिबेलासम्म नेपालमा सुनको खरिद बिक्रीलाई पारदर्शी बनाउँन सक्दैनौँ । अहिलेसम्म मापदण्ड छैन त्यसकारण यो क्षेत्रमा पस्न सक्तैनौँ । एक लाखमा किनेको सुन जर्ती काट्दा काट्दै अन्तिममा पाँच हजार रुपैयाँ हात पर्ने अवस्था रहन्छ । जब छापावाला सुन आउँदा ब्राण्डेड सुन आउँछ भने किन हामीले जर्तीको नाममा पैसा लिइरहेका छौँ ? यो त जानिजानि भएको छ । जबसम्म यो विषय पारदर्शी हुँदैन तबसम्म यो क्षेत्रमा हामी पस्न सक्तैनौँ ।
चाडबाडको बेला धेरै सलबलाउने, अनुगमन गर्ने तर अरूबेला निदाएर बस्ने भनेर बाणिज्य विभागलाई आरोप लाग्ने गरेको छ । के भन्नुहुन्छ ?
यहाँको रेकर्ड हेर्दा १२ महिनानै अनुगमन गरेको देखिन्छ । तर चाडबाडमा बढी अनुगमन हुन्छ त्यो स्वभाविक हो । यतिबेला नै वस्तु तथा सेवाको खरिद बिक्री अरु बेलाको तुलनामा बढी हुन्छ । सप्लाई र डिमाण्ड बढी भएपछि स्वतः कालोबजारी बढ्छ, त्यो बेला अधिक अनुगमन जरुरी हुन्छ । अहिले नियमित दिनको १२ देखि १४ वटा अनुगमन गरिरहेका छौँ । चाडबाडमा अझै बढ्छ । त्यतिबेला २५÷३० सम्म पनि पु¥याउनु पर्ने हुन्छ । अहिलेको अनुगमन बजार केन्द्रित हो ।
अहिले कतिवटा टोली दैनिक अनुगमनमा जाने गरेको छ ?
अहिले दैनिक ४ वटा टोलीले अनुगमन गरिरहेको छ । उनीहरूले १५/२० वटासम्म फर्महरुको दैनिक अनुगमन गरिरहेका छन् । हेलो सरकारमार्फत् आएका उजुरी र व्यक्तिगत रुपमा आएका उजुरीको विषयलाई पनि आधार बनाएर अनुगमनमा गइरहेका छौँ ।
बजारमा उपभोक्ताले हामी ठगिएका छैनौँ भनेर ढुक्कले सामान किन्ने अवस्था चाहिँ कहिले आउला ?
यो प्रवृत्ति हो । यसभित्र ठुलो नाफा छ । यो नाफा अन्त्य गर्न प्रवृत्तिको अन्त्य गर्नुपर्छ । कसले कुन बस्तुमा कति नाफा लिएको छ भन्ने पनि पहिचान भइरहेका छन् । चारसय देखि पाँचसय प्रतिशतसम्म बढी नाफा लिएका कमोडिटिजहरु पहिचान गरिसकेका छौँ । खुला बजार भएकाले त्यसभित्र प्रवेश गर्न हामीलाई गाह्रो पर्छ । उपभोक्ताहरू उजुरी गर्न आइरहनु भएको छैन । कुनको मूल्य कति पर्छ भन्ने नै थाहा छैन । कालोबजारी र ठगी अन्त्य हुने बित्तिकै प्रतिव्यक्ति आम्दानी पनि बढिहाल्छ । उपभोक्ताले तिरेको पैसा राज्यको ढुकुटीमा जान्छ । विभागले मात्र बजार सच्याउन सक्छ जस्तो लाग्दैन । बजारले सरकारलाई नै किनिसकेको अवस्था छ । जब खरिद बिक्री नै भइसक्यो भने रिफर्म कहाँबाट हुन्छ । बजारको पकडमा सरकारी क्षेत्र पुग्यो । हँुदैन भनेको विषयमा पनि सानो दबाव थेग्न नसक्दा सरकार आफ्नै निर्णयबाट ब्याक हुन्छ । जब बजार ५० प्रतिशतभन्दा माथि अनौपचारिक हुन्छ त्यो ग्रे एरियामा प्रवेश गर्छ । हाम्रो सम्पूर्ण आर्थिक नीति नै मुलुक ग्रे लिस्टबाट कसरी बाहिर निकाल्ने भन्ने हो । एमआरपी र बिलबिजक जारी गर्ने वित्तिकै १० प्रतिशत अर्थतन्त्र फर्मल हुन्छ । बजार अनुगमनमा जाँदा व्यापारीले घेरेर अनुगमन नै गर्न दिदैनन् । त्यो पावर कसले दियो ? कि त हामीले गरेको काम भएन भन्नु प¥यो, नभए कानुन अनुसार चल्नु प¥यो । सबै पक्ष मिलेर मात्रै बजार सुधार गर्न सकिन्छ ।
(वाणिज्यपोष्ट इकोनोमिक म्यागेजिनबाट)
प्रतिक्रिया