२०८२ असार २४ गते
काठमाडौ । चालु आर्थिक वर्ष (२०८१/०८२) बैकिङ क्षेत्र अत्यधिक तरलता (लगानीयोग्य रकम) को समस्यामा परे । बैंकहरुमा रकम थुप्रदै जाँदा निक्षेपकर्ताको निक्षेपको पनि अवमूल्यन हुने अवस्था सृजना भयो । अर्थात उनीहरुले राखेको निक्षेपको ब्याजदर महंगी भन्दा कम हुन पुग्यो ।
निरन्तर घट्दो ब्याजदरले निक्षेपकर्ता हतोत्साहीत भएका बेला ऋणीमा पनि आत्मविश्वास देखिएन् । फलस्वरुप बैंकमा निक्षेप जाम हुने अवस्था सृजना भयो । अत्यधिक तरलताको समस्याबाट गुज्रेका बैंकहरुमा भएको निक्षेपको जाम खुलाउँन नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (एसडिएफ— स्ट्याण्डिङ डिपोजिट फ्यासिलिटि) को प्रयोग बढाउँदै लग्यो । केन्द्रिय बैंकले चालु आर्थिक बर्षको असार २३ गतेसम्म १४५ पटकमा २ सय ४ खर्ब ३८ अर्ब १० करोड रुपैयाँ स्थायी निक्षेप सुविधा अन्र्तगत बैंकिङ प्रणालीबाट तानि सकेको छ । अझै निरन्तर तानिरहेको छ ।
अघिल्लो वर्ष फागुनबाट केन्द्रिय बैंकले शुरु गरेको स्थायी निक्षेप सुविधा (एसडिएफ) बैंकहरुको तरलता व्यवस्थापनमा निकै प्रभावकारी देखिएको छ । विशेष गरी तरलता व्यवस्थापन गरी मुद्रास्फितीलाई पनि नियन्त्रणमा राख्ने उदेश्यका साथ ल्याइएको स्थायी निक्षेप सुविधा अन्र्तगत केन्द्रिय बैंकले ३ प्रतिशत ब्याजदरमा बैंकको निक्षेप राख्दै आएको छ । बैंकहरुले ५ प्रतिशतसम्म ब्याजदर दिएर मुद्दती निक्षेपमा राखेको रकम ३ प्रतिशत ब्याजदरमै केन्द्रिय बैंकलाई दिन बाध्य छन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको हो । अहिले बैंकिङ प्रणालीमा कुल निक्षेप ७१ खर्ब ५२ अर्ब माथि पुगेको छ ।२१ दिनका लागि मात्र निक्षेप संकलन गर्दै आएको केन्द्रिय बैंकलाई छोटो अवधिको लागि निक्षेप तान्दा तरलता व्यवस्थापनमा हम्मे हम्मे परेपछि निक्षेप राख्ने समय बढाउँदै लगेको छ ।
अब २ महिना भन्दा बढी (६३ दिन) दिनका लागि निक्षेप तान्न थालेको छ । केन्द्रिय बैंकले असार १८ गते मात्र ६३ दिनका लागि ६० अर्ब निक्षेपका लागि बोलकबोल खुलाएको थियो । यस अघिको बुधबार (असार ११) देखि ६३ दिने निक्षेपको लागि बोलकबोल आव्हान गरेको थियो । त्यसअघि जेठ २५ गते पहिलोपल्ट ४२ दिन राख्ने गरी निक्षेपको बोलकबोल आव्हान भएको थियो । पछिल्लोपटक असार २२ गते ४२ दिने निक्षेपको बोलकबोल भएको थियो ।
तरलता अझै लम्बिने भएपछि अवधि बढायौ : राष्ट्र बैंक
चालु आर्थिक बर्ष (२०८१/०८२) सकिन अब केही दिन मात्र बाँकी छ । यसकारण अधिकांश कम्पनी तथा सरकारी निकाय समेत भुक्तानीमा केन्द्रित हुने भएकाले यो अवधिमा अझै बैकिङ प्रणालीमा पैसा थपिने अवस्था रहन्छ ।नेपाल राष्ट्र बैंकले पनि बैकिङ प्रणालीको अधिक तरलताको स्थिती अझै लम्बिने देखिएकाले निक्षेपको अवधि बढाइएको बताएको छ । राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले ब्याजदरको सिमालाई नियन्त्रणमा राख्न निक्षेपको अवधि बढाइएको बताए । उनले भने, ‘तरलताको समस्या अझै लम्बिने देखिन्छ । असार मसान्तमा भुक्तानी प्रक्रिया बढी सक्रिय हुने भएकाले झनै बैंकिङ प्रणालीमा निक्षेप थपिन्छ । यसैले ब्याजदर सिमा भन्दा बाहिर नजाओस भनेर ६३ दिनसम्म पुर्याएका छौ ।’
यता नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पनि एसडिएफको समयावधि लम्याउँदा प्रक्रिया केही सहज हुने बताउँछन् । यद्यपि तरलताको चाप साउनसम्मनै पर्ने उनको बुझाई छ । ज्ञवाली भन्छन, ‘सामान्यतया असार/साउनमा तरलता अधिक हुने गरेको छ । हामीकहाँ अधिक तरलता हुन थालेको धेरै भइसक्यो । अधिक तरलताको अवस्था साउनसम्मै बढ्ने देखिन्छ । त्यसपछि विस्तारै समाधान हुँदै जाला ।’
निक्षेपको बोलकबोल प्रक्रिया छिटो छिटो अघि बढाउँन झन्झट हुने भएपछि केन्द्रिय बैंकले एसडिएफको अवधि बढाएको हुनसक्ने ज्ञवालीले बताए । अहिले बैंकको सिडि रेसियोलाई (७८ प्रतिशत ) आधार मान्दा बैकिङ प्रणालीमा सात खर्ब भन्दा बढी लगानी योग्य रकम (तरलता) छ ।
सुस्त कर्जा प्रवाह र बढ्दो रेमिट्यान्सका कारण प्रणालीमा पैसा थपिएको थपियै छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्रै पनि १५ खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिसकेको छ भने विदेशी मुद्रा सञ्चितीको पनि थुप्रो लागेको छ । जसका कारण बैंकहरुलाईै अधिक तरलता व्यवस्थापनमा सकस परेको छ । बैकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बैकिङ प्रणालीमा अहिले ८ खर्ब बढी अधिक तरलता छ ।
प्रतिक्रिया