२०८१ कात्तिक ११ गते
काठमाडौँ । जीवन बीमा कम्पनीहरुले ४१ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४१ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । जीवन बीमकहरुको यो व्यवसाय गत आवको तुलनामा ०.६८ प्रतिशतले मात्रै बढी हो । गत आवको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड रुपैयाँ बीमा शुल्क भित्र्याएका थिए ।
देशको अर्थतन्त्रमा सुधार देखिँदै गएपनि बीमा कम्पनीहरुको व्यवसाय भने सामान्य मात्रै बढेको देखिएको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी र साविक तीनवटा कम्पनी मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सको व्यवसाय भने गत आवको तुलनामा घट्न पुगेको छ । अन्य कम्पनीहरुको पनि सामान्य मात्रै बढेको देखिएको छ ।
असोज मसान्तसम्म सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ रहेको छ । कम्पनीले ११ अर्ब ९९ करोड रुपैयाँ प्रिमियम संकलन गरी सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनी बन्न सफल भएको छ ।
त्यस्तै, दोस्रोमा नेशनल लाइफले ४ अर्ब ९० करोड रुपैयाँ प्रिमियम संकलन गर्दा एलआइसी नेपालले पनि ४ अर्ब ५७ करोड रुपैयाँ प्रिमियम संकलन गरी तेस्रो स्थान जमाएको छ ।
यता हिमालयन लाइफले भने ४ अर्ब ३१ करोड मात्रै प्रिमियम संकलन गरेको छ । कम्पनीले संकलन गरेको यो बीमाशुल्क गत आवको तुलनामा १।५८ प्रतिशत कम हो । गत आवको यस अवधिसम्म हिमालयन लाइफले ४ अर्ब ३८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
यसका साथै सुर्यज्योति लाइफले २ अर्ब ४९ लाख, एशियन लाइफले २ अर्ब ३ करोड, सिटिजन लाइफले १ अर्ब ७४ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड, मेट लाइफले १ अर्ब ४४ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ४० करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड, आइएमई लाइफले १ अर्ब २१ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड र सन नेपाल लाइफले ९३ करोड २७ लाख रुपैयाँ मात्रै प्रिमियम भित्र्याएको छ ।
प्रतिक्रिया