२०८२ पुस ०१ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा तिनका कर्मचारीमाथि हुने गैरव्यावसायिक र उच्छृङ्खल गतिविधिमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। पछिल्लो समय कर्मचारीमाथि आक्रमण र दुर्व्यवहारका घटना बढेपछि राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
आइतबार मात्रै ऋण उठाउन गएका ज्योति विकास बैंकका कर्मचारीमाथि ऋणीहरुका एक समूहले हातपात गर्दै कालो मोसो दलेका थिए । राष्ट्र बैंकले आज जारी गरेको विज्ञप्तिमा बैंकहरूले सर्वसाधारणबाट संकलित निक्षेपबाटै कर्जा प्रवाह गर्ने भएकाले कर्जा फिर्ता नहुँदा निक्षेप फिर्ता गर्न समस्या हुने उल्लेख छ। प्रतिकूल अवस्थामा कर्जा तिर्न नसकिए कर्जा पुनरसंरचना वा पुनरतालिकीकरणको सुविधा उपलब्ध हुने र समस्या समाधानका लागि कानुनी तथा गुनासो सुनुवाइको बाटो अपनाउन आग्रह गरिएको छ।
उच्छृङ्खल गतिविधि नरोके वित्तीय सेवा प्रवाहमा असर पर्ने भन्दै राष्ट्र बैंकले सबैलाई संयमित रहन र कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया