२०८२ चैत २३ गते
काठमाडौं। पेट्रोलियम पदार्थको खपत कम गर्न सरकारले सरकारी कार्यालयमा आइतबार पनि बिदा दिने निर्णयसँगै बैंक वित्तीय संस्थामा पनि नयाँ व्यवस्था लागू भएको छ । नेपाल राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नेपाल सरकारको निर्णय बमोजिम अब प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिइने भएको हो।
सूचनाअनुसार उक्त व्यवस्था २०८२ चैत २३ गतेदेखि लागू हुनेछ। यससँगै बैंक तथा वित्तीय संस्थाहरूको कार्यालय र कारोबार समय पनि परिवर्तन गरिएको छ।
नयाँ व्यवस्थाअनुसार कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिने छ। यस्तै, बैंकिङ कारोबार समय पनि सोही दिनहरूमा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ।
त्यसैगरी, कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको जाडो समयावधिमा भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म र बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म रहने उल्लेख गरिएको छ।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिँदै सेवाग्राहीलाई पनि सोहीअनुसार सेवा लिन अनुरोध गरेको छ।
राष्ट्र बैंकको यो आन्तरिक निर्देशनलगत्तै अन्य वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले पनि भोलिदेखि कार्यालय समय परिवर्तन भएको भन्दै आफ्ना कर्मचारीहरूलाई बिहान ८स्४५ बजेभित्रै कार्यस्थलमा उपस्थित भइसक्न आन्तरिक परिपत्र जारी गरेका छन्।
प्रतिक्रिया