शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने वृद्धि

२०८१ पुस १४ गते

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने वृद्धि

काठमाडौँ। साताको पहिलो कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ। आज नेप्से परिसूचक २१.१२  विन्दुले घटेर २६०९.५८ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.८० प्रतिशतले घटेको हो ।

यस दिन नेप्सेका १३ उपसमूहमध्य तीन उपसमूहका परिसूचक बढेका छन् भने बाँकी दश उपसमूहका परिसूचक घटेका छन् । आइतबार सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक १.१२ प्रतिशतले बढेको छ । त्यस्तै यस दिन सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ४.४७ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन पाँच अर्ब ३२ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६६ हजार सात सय ७६ पटकको कारोबारमा पाँच अर्ब ४७ करोड बराबरको किनबेच भएको छ । जसमा ६९ कम्पनीका शेयर बढेका छन् भने १७२ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी दुई कम्पनीका शेयर स्थिर रहेका छन् ।

यस दिन सर्वाधिक बढ्नेमा महिला लघुवित्त रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा सपोर्ट लघुवित्त, नारायणी विकास बैंक, जानकी फाइनान्स, सिन्धु विकास बैंक रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा प्रभु बैंक रह्यो जसको २६ करोड दश लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा पनि प्रभु बैंक नै रह्यो जसको दश लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ।