चार महिनामा सवा ३ खर्ब राजस्व उठाएको सरकारले खर्च कति गर्यो ?

२०८१ मंसिर ०२ गते

चार महिनामा सवा ३ खर्ब राजस्व उठाएको सरकारले खर्च कति गर्यो ?

काठमाडौ । सरकारले कात्तिक मसान्तसम्म ३ अर्ब २३ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चार महिनामा सरकारले लक्ष्यको २२.७८ प्रतिशत राजस्व संकलन गरेको छ । गत वर्ष यसै अवधिमा सरकारले २ खर्ब ७८ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष सरकारको राजस्वमा केही बृद्धि भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ । चार महिनामा कर २ खर्ब ८९ अर्ब ९२ करोड रुपैयाँ र गैरकर ३३ अर्ब ३५ करोड रुपैयाँ उठेको छ । सरकारले चालु आर्थिक वर्ष १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । जसमा कर १२ खर्ब ८४ अर्ब र गैरकर १ खर्ब ३५ अर्ब रुपैयाँ उठाउँने लक्ष्य लिएको थियो । चार महिनामा सरकारको ट्रेजरीमा ३ खर्ब २९ अर्ब रुपैयाँ जम्मा भएको छ । यो कर, गैरकर, अनुदान र अन्य प्राप्ति मार्फत जम्मा भएको रकम हो ।

तर यस अवधिमा सरकारले ४ खर्ब १५ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले कार्यालय सञ्चालन खर्च अन्तर्गत नै २ खर्ब ९२ अर्ब रुपैयाँ सकाएको छ । अहिले सरकारको आम्दानी भन्दा खर्च बढी भएको छ । गत वर्षजस्तै यस वर्ष पनि सरकालाई खर्च धान्न सकस पर्ने देखिएको छ । अहिले सरकारको आम्दानी भन्दा खर्च ९१ अर्ब ९४ करोड २४ लाख रुपैयाँ बढी छ ।

Advertisement:

Ad
Ad

यता सरकारले पुँजीगत खर्ब ३४ अर्ब ५३ करोड रुपैयाँ गरेको छ भने सार्वजनिक ऋणको सावा फिर्ता तथा सार्वजनक संस्थानमा लगानीका लागि गरिने वित्तीय व्यवस्थापन खर्च अन्तर्गत ८७ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ ।

नेपालमा पछिल्लो समय आम्दानीले खर्च थेग्न नसक्ने अवस्था भएको र खर्च गर्नका लागि ऋण लिनुपर्ने अवस्था रहेको छ । यही सकसमा परेको अर्थतन्त्र सुधारका लागि सरकारले आयोग नै बनाएर काम थालिसकेको छ । विशेषगरी आन्तरिक अर्थतन्त्र सुधारका विषयमा केन्द्रित हुने गरी उच्‍चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अहिले विभिन्न निकायसँग सुझाव संकलन गरिरहेको छ । यो आयोगको नेतृत्व पूर्व अर्थसचिव रामेश्वर खनालले गरिरहेका छन् ।