२०८३ असोज ०७ गते
चितवन । हरेक वर्ष जस्तै यो वर्ष पनि चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। नारायणगढमा रहेको साल्ट ट्रेडिङले यही असोज १ गतेदेखि कात्तिक मसान्तसम्म उक्त सुपथ पसल सञ्चालनमा ल्याएको हो।
उपभोक्तालाई दैनिक उपभोग्य सामान खरिदमा केही सहुलियत प्रदान गर्ने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख बुद्धि विनोद दाहालले जानकारी दिए।
“अघिल्ला वर्षहरूमा पनि दसैँ, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै सुपथ पसल सञ्चालनमा ल्याइएको थियो,” प्रमुख दाहालले भने, “यस वर्ष पनि त्यसैलाई निरन्तरता दिएका हौँ। यसले बजार मूल्यलाई केही हदसम्म नियन्त्रण गर्न पनि मद्दत पुग्छ।”
उनका अनुसार सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुहरू जस्तै— चिनी, नुन, खानेतेल, दाल, पिठो, मैदा, चिउरा लगायतका सामग्री सहुलियत दरमा पाउनेछन्। एक ग्राहकले एक दिनमा ६ केजीसम्म चिनी र नुन तथा ४ केजीसम्म दाल, पिठो, मैदा, चिउरा र खानेतेल खरिद गर्न पाउने उनले बताए।
यसैगरी उपभोक्ताले जिरा, धनियाँ, भुजा, चामल, चियापत्ती, गेडागुडी, सोयाबिन र साबुन लगायतका सामग्री पनि आवश्यकता अनुसार खरिद गर्न सक्नेछन्। सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण क्रमश: बढ्दै गएको उनको भनाइ छ।
असोज १ गतेदेखि सञ्चालनमा आएको यो पसल बिहान सवा ९ बजेदेखि बेलुका साढे ४ बजेसम्म खुला रहनेछ। कार्यालयले गत वर्ष ४१ करोड ५६ लाख ६२ हजार सात सय रुपैयाँको कारोबार भएको जनाएको छ।
प्रतिक्रिया