तिहारमा कुरियर तथा कार्गो कम्पनीहरुलाई भ्याईनभ्याई : नेपाली टोपी, माला र सेलरोटी पुग्छन् देशविदेश

२०८१ कात्तिक १३ गते

तिहारमा कुरियर तथा कार्गो कम्पनीहरुलाई भ्याईनभ्याई : नेपाली टोपी, माला र सेलरोटी पुग्छन् देशविदेश

काठमाडौँ । प्रविधीले संसारलाई साँघुरो बनाउँदै लगेको छ । प्रविधीको प्रयोगकै उपज कुरियर तथा कार्गो कम्पनीहरुको दायरा पनि फराकिलो बन्दै गइरहेको छ । नेपालबाट पठाइएका मालसामानहरु विश्वभरका जुनसुकै मुलुकमा पुग्ने र विश्वभरका मानिसले नेपालमा पठाएका सामान छिटो छरितो रुपमा प्राप्त गर्ने विश्वासिलो माध्यमका रुपमा कुरियर तथा कार्गो कम्पनीहरुलाई लिईन थालिएको छ । तिहार नजिकिएसँगै मालसामान देश विदेश पठाउन र प्राप्त सामान ढुवानी गर्न यतिखेर कुरियर कम्पनीहरुलाई भ्याई नभ्याई भएको छ ।

विशेषगरी नेपालमा रहेकाहरुले विदेशमा रहेका आफन्तजनलाई तिहारको माला,सेलरोटी,मसला,लत्ताकपडा र उपहार पठाउन कुरियर सेवालाई माध्यम बनाउने गरेका छन् । विश्वभरी नेपालीहरुको बसोबास र चहलपहल बढेसँगै नेपालीहरुको मूख्य चाड तीज,दशैं र तिहारमा नेपाली मालसामान झिकाउने र उपहारका रुपमा देशविदेश पुर्याउने कारोबार बढेको पाइएको हो । तीजमा महिलाहरुले लगाउने गरगहना,साडी,कुर्ता शुरुवाल कुरियरका रुपमा विदेश पुग्ने गरेका छन् भने दशैंमा नेपालबाट लत्ताकपडा जाने गरेको र साउदी, मलेशिया, कतार, अमेरिका, अष्ट्रेलिया जस्ता मुलुकबाट ईलेक्ट्रोनिक्स सरसामान,ग्याजेट,लत्ताकपडा आउने गरेको कुरियर व्यवसायीहरु बताउँछन् ।

Advertisement:

Ad
Ad

अन्य बेला मासिक औसत १२० टन सामान विदेश पुग्ने गरेकोमा चाडबाडको सिजनमा दैनिक १० टन अर्थात मासिक ३०० टनका दरले मालसामान नेपालबाट बाहिरिने गरेको कुरियर तथा कार्गो एसोसिएसनका अध्यक्ष तथा एपेक्स् वर्ल्डवाइड एक्सप्रेसका सञ्चालक दुर्गा प्रसाद सुवेदी बताउँछन् । "वर्षभरीमा हुने कारोबारको ३० प्रतिशतले बढी त यही तीज,दशैं र तिहारमा हुन्छ,यतिखेर हामीलाई बोल्ने फुर्सद पनि हुँदैन," सुवेदी बताउँछन् ।

हात्तिसारमा रहेको  एपेक्स् वर्ल्डवाइड एक्स्प्रेसले विश्वका २२० मुलुकमा नेपालबाट पठाइएका मालसामान हवाईमार्ग हुँदै ढुवानी गर्दै आएको छ । सुवेदीका अनुसार नेपालका कुरियर कम्पनी हुँदै सबैभन्दा बढी नेपालका मालसामान पु्ग्ने मुलुक अमेरिका हो ।यो कम्पनीबाट  पनि कुल ढुवानी हुने सामानको ५० प्रतिशत सामान अमेरिका नै पुग्दछ । त्यस्तै नेपाल आउने मालसामान भने धेरैजसो दुबई, कतार, साउदी, मलेशियाबाट आउने गरेको छ ।

 

विश्वको कुनै पनि देशमा नेपालबाट पठाइएका मालसामान ४ देखि ८ दिनमा होम डेलिभरी हुने,अनलाइन ट्र्याकिङ्ग सिस्टमबाट घर बसि सामान कहाँ पुग्यो हेर्न मिल्ने हुँदा ढुक्क भएर अचेल कुरियर तथा कार्गो कम्पनीहरु मार्फत मालसामान पठाउनेको संख्या बढेको बिजुली बजारमा रहेको जे.डि.कुरियर एण्ड कार्गो सर्भिसका सञ्चालक डीएन श्रेष्ठ बताउँछन् । उनका अनुसार वर्षभरीको आधा कमाई यही ३ महिनामा हुने भएपनि यस वर्ष भने मागमा केही कमी आउँदा सामान डेलीभरी पनि घटेको बताउँछन् ।

'सरकारले खासै महत्व नदिएको क्षेत्र'

नेपाल कुरियर एसोसिएसनमा हाल ७० वटा कम्पनीहरु रहेका छन् । एसोसियसनमा आवद्ध नभएका समेत गर्ने हो भने नेपालभरी १सय भन्दा बढी यस्ता कम्पनीहरु छन् । जहाँ ५ हजार हाराहारीले रोजगारी पाएका छन् । मालसामान अन्तिम डेलिभिरी गर्ने यो क्षेत्रलाई करको दायरामा ल्याएर राज्यको अर्थतन्त्रमा मनग्य योगदान पुर्याउन सकिने भएपनि सरकारको नजर त्यसतर्फ पुग्न नसकेको बताउँछन् एसोसिएसनका अध्यक्ष सुवेदी । "हामी बिना कुनै व्यवसायनै चल्दैन,फाइनल्ली मालसामान डेलिभरी गर्ने क्षेत्र हो यो तर सरकारले खासै महत्व दिएको छैन "उनी भन्छन् ।

उनका अनुसार कुरियर कम्पनीबाट कारोबार हुने यी मालसामान एक्स्पोर्टमा देखिँदैन यसो हुँदा राज्यलाई कुनै कर आउँदैन र मालसामान प्राप्त गर्नेहरुबाट आउने रकम पनि कानुनी बाटोबाट नआई अधिकांश हुण्डीबाट आउने गरेको छ । "आएपनि व्यक्तिगत रुपमा मात्र आउँछ,यसलाई राज्यले व्यवस्थित गर्नुपर्ने छ । " उनी भन्छन् ।

ट्रान्जिट नहुँदा समस्या

नेपालबाट कार्गोरहित जहाज रित्तै उँड्ने गरेपनि एअर रुट र ट्रान्जिट नहुँदा यो व्यवसायमा समस्या रहेको व्यवसायीहरुको भनाई छ । ट्रान्जिट अभावमा धेरै विदेशी एअरलाइन्सहरुले व्यवसाय बिस्तारको मन्जुरी गरेर पनि सहमति तोडेका छन् । यदी प्यासेन्जर सहित कार्गो पनि लैजान पाउने व्यवस्था भए नेपालमा अहिलेसम्म आउन नखोजेका एअरलाइन्सहरु पनि नेपालमा बिजनेस पाउने सम्भावना देखेर आउने र नेपालको एक्सपोजर बढ्ने अध्यक्ष सुवेदी बताउँछन् । ट्रान्जिटको समस्याका कारण व्यवसाय बिस्तारको सम्भावना हुँदा हुँदै पनि संकुचित भएर बस्नु परेको सुवेदीको तर्क छ । अन्तरराष्ट्रिय क्षेत्रमा कुरियर तथा कार्गो सेवाको अत्यन्त ठूलो बजार छ । तीनै मध्येका चर्चित डीएचएल, फेडेक्स,एपेक्स ,यूपीएसजस्ता कम्पनीहरूले विश्वव्यापी प्रभुत्व जमाउँदै नेपाली कुरियर कम्पनीहरुलाई एजेण्टका रुपमा कारोबार गर्न अधिकार दिएका छन् ।