२०८३ असोज ०३ गते
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रभावित आयोजनामध्ये ८ वटा सञ्चालनमा रहेका छन् भने ४ वटा निर्माणाधीन छन्। यी आयोजनाको कुल क्षमता ६६९ मेगावाट रहेको छ।
बाढीबाट रसुवाका ११ जलविद्युत् आयोजनामा कार्यरत ८३७ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। रसुवामा मात्रै ६ वटा आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। ती आयोजनामा ४९४ जना सम्पर्कविहीन रहेको र ६१४ जना सकुशल तथा उद्धार भएको विवरण छ।
पूर्णरूपमा क्षतिग्रस्त आयोजनामा माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), रसुवागढी (१११ मेगावाट), रसुवा–भोटेकोशी (१२० मेगावाट), लाङटाङ खोला (२० मेगावाट), चिलिमे (२२ मेगावाट) र मैलुङ खोला (५ मेगावाट) रहेका छन्।त्यस्तै, त्रिशूली तथा नुवाकोट क्षेत्रमा थप ६ आयोजना पूर्णरूपमा प्रभावित भएका छन्। यसमा त्रिशूली जलविद्युत् केन्द्र, देवीघाट जलविद्युत् केन्द्र, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, मिडिल त्रिशूली गंगा र नुवाकोट सौर्य आयोजना रहेका छन्। यी आयोजनामा कुल १७५ मेगावाट क्षमता रहेको छ।
माथिल्लो त्रिशूली–१ मा खोजी तीव्र
२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा खोजी तथा उद्धार कार्य जारी छ। असोज ३ गते पनि अडिट–३ सुरुङ क्षेत्रमा खोजीलाई निरन्तरता दिइएको विवरणमा उल्लेख छ। खोजीका क्रममा सुरुङबाट थप ११ शव निकालिएसँगै अडिट–३ सुरुङबाट निकालिएका शवको संख्या २४ पुगेको छ। टेलरेन्डर क्षेत्रमा समेत दुई शव फेला परेको जनाइएको छ।
खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आयोजनाको टोलीसहित ४४ जनाको समूह परिचालन गरिएको छ। डाउनस्ट्रीम क्षेत्रमा समेत खोजीका लागि सर्च डग टोली परिचालन गर्ने तयारी गरिएको छ। मैलुङ क्याम्प क्षेत्रमा थप एउटा एक्स्काभेटर प्रयोग गरी भग्नावशेष हटाउने तथा सम्भावित स्थानमा खोजी गर्ने काम जारी छ।
प्रतिक्रिया