टेरामोक्स खरिदमा भ्रष्टाचार भएको निष्कर्ष, मुद्दा प्रक्रिया अघि बढाउन अख्तियारलाई लेखा समितिको आग्रह

२०८० पुस ११ गते

टेरामोक्स खरिदमा भ्रष्टाचार भएको निष्कर्ष, मुद्दा प्रक्रिया अघि बढाउन अख्तियारलाई लेखा समितिको आग्रह

काठमाडौं। सार्वजनिक लेखा समितिले टेरामोक्स खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा प्रक्रिया अघि बढाउन अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ।

प्रतिनिधि सभाअन्तर्गतको समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले टेरामोक्स खरिद सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणबाट आवश्यक कागजात मगाएर अध्ययन गरी भ्रष्टाचार भएको निष्कर्षसहित अभियोजन प्रक्रिया अघि बढाउन अख्तियारलाई आग्रह गरेको हो।

Advertisement:

Ad
Ad

समितिले टेरामोक्स खरिदसँग सम्बन्धित सबै कागजात अढाइ महिनाअघि नै प्राधिकरणसँग मागेको थियो। विस्तृतरुपमा अध्ययनपछि समितिले टेरामोक्स खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको हो।

ठेक्काका सर्त टेण्डरका दौरान बारम्बर परिवर्तन गरेको, मन्त्रालयका तत्कालीन सचिवालयका सदस्य नै टेरामक्सका बजार व्यवस्थापक रहेको, लागत अनुमान गर्ने र स्पेसिफिकेसन बनाउने विज्ञ नै सप्लायर्ससँग सम्बन्धित भएको, उनले औचित्य नखुलाई अत्यधिक लागत अनुमान गरेको समितिको अध्ययनबाट खुलेको छ।

उपलब्ध अन्य कागजात हेर्दा भुक्तानी ग्रामिण दूरसञ्चार कोषको रकमबाट गरेको तर कुन विधिबाट बजेट स्वीकृत भयो र यो प्रक्रियामा संलग्न पदाधिकारी को को हुन् र के निर्णय भएको भन्ने नभेटिएको राजस्व बढ्ने आधार र संस्थालाई हुने फाइदा के के हुन् भन्ने उल्लेख नभएको र राष्ट्र बैंकको स्वीकृतिविना भुक्तानी गरेको आधारमा समितिले खरिद प्रकृयालाई शंकास्पद मानेको छ। समितिका अनुसार भुक्तानी ग्रामीण दूरसञ्चार कोषको रकमबाट गरिएको हो। डलरमा सम्झौता गरी स्थानीय मुद्रामा भक्तानी गर्दा कर छलीका साथै ५० करोड रुपैयाँ नोक्सानी हुने निष्कर्ष समितिले निकालेको छ।

प्राधिकरणले टेरामक्स्को माध्यमबाट फोन ट्यापिङ गरेर गोपनियताको अधिकार हनन गर्न लागेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीको निर्देशनमा खरिद प्रकृया हाललाई रोकिएको छ ।