२०८३ कात्तिक २२ गते
भैरहवा । । रुपन्देहीमा तिहारको अवसरमा खेलिने देउसी–भैलो कार्यक्रम राती १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले प्रचलित परम्पराअनुसार खेलिने देउसीभैलो जस्ता कार्यक्रम राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो ।
चाडपर्वलाई व्यवस्थित, मर्यादित, उल्लासमय, शान्तिपूर्ण तथा सुरक्षित वातावरणमा सामाजिक सद्भाव कायम गर्दै मनाउन कार्यालयले सम्पूर्ण जिल्लाबासीलाई अनुरोध गरेको छ ।
कार्यालयले तिहारमा सर्वसाधारणलाई असर पर्ने तथा ध्वनी प्रदूषण हुने गरी साउण्ड सिस्टम ९डिजे० नबजाउन, भूइचम्पा, पटका, आतिसबाजी जस्ता बिस्फोटक पदार्थको ओसारपसार, विक्रीवितरण र प्रयोग नगर्न आग्रह गरेको छ ।
त्यस्तै चाडपर्वका समयमा मेला–महोत्सव आयोजना गर्दा स्थानीय प्रशासनको अनुमति लिन, प्रचलित कानूनबमोजिमबाहेक मादक पदार्थको विक्रीवितरण नगर्न तथा सार्वजनिक शान्ति सुरक्षामा खलल आउन सक्ने कुनै पनि गतिविधिहरु नगर्न कार्यालयले अनुरोध गरेको छ । जुवातास खेल्ने, खेलाउने तथा अन्य कुनै पनि जुवाजन्य गतिविधि नगर्नसमेत सूचनामार्फत आग्रह गरिएको छ ।
कार्यालयको सूचनाविपरीतका कुनै पनि कार्य गरेको वा गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । चाडपर्वका समयमा चोरी तथा लुटपाटका गतिविधिहरु हुन सक्ने भएकाले आ–आफ्नो घर तथा पसलको भरपर्दो सुरक्षा व्यवस्था मिलाउनसमेत उहाँले जिल्लाबासीलाई आग्रह गर्नुभएको छ । नेपालीहरुको महान पर्व दीपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अवसरमा सम्पूर्ण जिल्लाबासीमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले शुभकामना समेत व्यक्त गरेको छ ।
प्रतिक्रिया