सरकारको बजेट खर्च गर्ने प्रवृत्तिमा भएन सुधार, साढे २ महिनामा बजेट घाटा ५० अर्ब नाघ्यो

२०८१ असोज १७ गते

सरकारको बजेट खर्च गर्ने प्रवृत्तिमा भएन सुधार, साढे २ महिनामा बजेट घाटा ५० अर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साढे २ महिनाको अवधिमा सरकारको बजेट घाटा ५० अर्ब नाघेको छ । चालु आवको असोज १५ गतेसम्म सरकारले २ खर्ब ५५ अर्ब १० करोड ५६ लाख बजेट खर्च गर्दा कुल २ खर्ब ५ अर्ब १० करोड १७ लाख प्राप्ति गरेको छ । यस अवधिमा सरकारको बजेट घाटा ५० अर्ब ३९ लाख रुपैयाँ पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज १५ गतेसम्मको तथ्यांक हेर्दा राजस्व संकलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिन्छ । यो अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको १४. ६ प्रतिशत छ भने बजेट खर्च १३. ७१ प्रतिशत छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साढे २ महिनामा गत वर्षको यहि अवधिको तुलनामा सामान्य सुधार भएपनि सरकारको बजेट खर्च गर्ने प्रवृत्ति भने पुरानै देखिएको छ।

Advertisement:

Ad
Ad

सरकारले चालु आवका लागि कुल १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकोमा साढे २ महिनामा १६. २१ प्रतिशत अर्थात १ खर्ब ८४ अर्ब ९१ करोड ८२ लाख बराबर रहेको छ । गत वर्षको यसै अवधिमा यो शीर्षकमा १२. ४९ प्रतिशत बजेट खर्च भएको थियो ।

पुँजीगत खर्च ५. ६९ प्रतिशत मात्रै, साढे २ महिनामा २० अर्ब ४ करोड खर्च

यस्तै, चालु आवको असोज १५ गतेसम्म विकास बजेट अर्थात पुँजीगत शीर्षकमा ५. ६९ प्रतिशत बजेट खर्च भएको छ । यो शीर्षकमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबरको बजेट छुट्याइएकोमा साढे २ महिनाको अवधिमा २० अर्ब ४ करोड ६७ लाख बराबर बजेट खर्च भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लक्ष्यको ३. ५९ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च भएको थियो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आवमा पुँजीगत अर्थात विकास बजेट खर्चमा केही सुधार देखिएको छ ।

यस अवधिमा वित्तीय व्यवस्थापन शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको १३. ६५ प्रतिशत बराबर छ । मुख्यगरी सरकारी ऋण तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्थापनतर्फको बजेट चालु आवका लागि ३ खर्ब ६७ अर्ब २८ करोड बराबर छ। पछिल्लो साढे २ महिनाको अवधिमा वित्तीय व्यवस्थापन शीर्षकबाट ५० अर्ब १४ करोड ७ लाख खर्च भएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष सरकारको राजश्व संकलन र विकास खर्चमा केही सुधार आएता पनि बजेट खर्चको अवस्था भने सन्तोषजनक देखिदैन् । चालु आर्थिक वर्ष २०८१–८२ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसक्ने संकेत देखिएको छ । २ प्रमुख दलहरको सत्ता गठबन्धनको सरकार भएको अवस्थामा पनि बजेट खर्च गर्न शैली भने उही पुरानै रहेको छ । एक त निर्धारित बजेट समयमै खर्च गर्न नसक्ने, भएपनि समयमा भुक्तानी नहुने परम्पराले निरन्तरता पाउने देखिएको छ ।

राजस्व संकलन साढे २ महिनामा २ खर्ब नाघ्यो, वैदेशिक अनुदान शून्य

चालु आर्थिक वर्षको साढे २ महिनाको अवधिमा गत वर्षको यसै अवधिको तुलनामा राजश्व संकलन भने केहि सुधार देखिएको छ । चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले वार्षिक लक्ष्यको १४. १६ प्रतिशत बराबर राजस्व संकलन गरेको छ । चालु आवका लागि सरकारले कुल १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजश्व उठाउने लक्ष्य राखेकोमा असोज १५ सम्म २ खर्ब ९० करोड ६६ लाख बराबर राजस्व उठेको छ ।

यस अवधिमा कर राजस्व वार्षिक लक्ष्यको १३. ८८ प्रतिशत अर्थात १ खर्ब ७८ अर्ब २३ करोड ३८ लाख र गैरकर राजस्व लक्ष्यको १६।७८ प्रतिशत अर्थात् २२ अर्ब ६७ करोड २८ लाख बराबर उठेको छ । यो अवधिमा सरकारले वैदेशिक अनुदान भने लिएको देखिँदैन । अन्य शिर्षकमा ४ अर्ब १९ करोड ५१ लाख प्राप्ति गरेको छ।

चालु आवको बजेट मार्फत कुल बजेट रकममध्ये विकास खर्च पनि भनिने पुँजीगत खर्चमा ३ खर्ब ५२ अर्ब (१८. ९५), चालु खर्चमा ११ खर्ब ४० अर्ब (६१. ३१५) छुट्याइएको छ । विभिन्न ऋण तथा ब्याज तिर्नका निम्ति वित्तीय व्यवस्था अन्तर्गत ३ खर्ब ६७ अर्ब छुट्याइएको छ ।