सञ्चालनमा आयो चाडपर्व लक्षित सुपथ मूल्य पसल, अन्य पसलभन्दा ५देखि १० रुपैयाँसम्म छुट दिइने

२०८१ असोज ०३ गते

सञ्चालनमा आयो चाडपर्व लक्षित सुपथ मूल्य पसल, अन्य पसलभन्दा ५देखि १० रुपैयाँसम्म छुट दिइने

काठमाडौं । सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आज बिहीबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६३ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।

दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको कम्पनीले जनाएको छ । काठमाडौँ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालित छन् । अनलाइनमार्फत अर्डर लिएर उपभोक्ताको भान्छासम्म उपभोग्य सामग्री पुर्‍याइने कम्पनीले जनाएको छ ।

Advertisement:

Ad
Ad

सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो रु पाँच, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमीरगेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो रु सात छुट पाउनेछन् । त्यस्तै, जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घ्यूमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ ।

पर्वोत्सव सहुलियत पसलमा करिब ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिइएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले राससलाई जानकारी दिनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ २३ गते चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । सुपथ पसल सञ्चालनका लागि सरकारले तीन करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको छ ।