राष्ट्र बैंकले विद्यार्थी तथा कामदारले लैजाने डलरको सीमा बढायो

२०८० पुस १३ गते

राष्ट्र बैंकले विद्यार्थी तथा कामदारले लैजाने डलरको सीमा बढायो

काठमाडौं। नेपाल राष्ट्र बैंकले देश बाहिर उच्च शिक्षा अध्यन गर्न जाने विद्यार्थीहरूले संगै लैजाने डलरको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ संशोधन गर्दै अष्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपका देशमा जाने विद्यार्थीका लागि सुविधा थप गरेकाे हाे ।

Advertisement:

Ad
Ad

अब यी राष्ट्रहरूमा जाने विद्यार्थीले १२ हजार डलरसम्मको सटही गर्न पाउने छन् । यसअघि भने विद्यार्थीहरुले १० हजार डलरसम्म मात्र साट्न पाउँथे । यसका साथै राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपालीका लागि पनि राहदानी बापत प्रदान गरिने सटही सुविधा पनि थपेको छ । अब युरोप, अमेरिका, क्यानडा, जापान र दक्षिण कोरिया रोजगारीका लागि जाने कामदारलाई राहदानी बापत ५०० डलरसम्म साट्न पाउने भएका हुन् ।

यसअघि भने यी मुलुक जाने कामदारलाई २०० डलर मात्र सटही गर्ने सुविधा बैंकले दिएकाे थियाे । एकीकृत परिपत्र अनुसार अन्य राष्ट्र जानेले भने २०० अमेरिकी डलरसम्म मात्र साट्न पाउनेछन् । यसका साथै विद्युतीय माध्यमबाट जारी हुने भिसा र टिकटको आधारमा सोको प्रिन्ट संलग्न भई आएको आधारमा समेत सटही सुविधा उपलब्ध हुने व्यवस्था गरिएकाे छ ।