गगन थापामाथि प्रहरी निगरानी बढ्यो, पक्राउ गर्ने तयारी भइरहेको कांग्रेसको आशंका

२०८३ कात्तिक १९ गते

गगन थापामाथि प्रहरी निगरानी बढ्यो, पक्राउ गर्ने तयारी भइरहेको कांग्रेसको आशंका

काठमाडौं । प्रहरी महानिरीक्षक परिवर्तनसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि प्रहरी निगरानी थप कडा बनाइएको कांग्रेस नेताहरूले बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहका पछिल्ला कदमको सार्वजनिक रूपमा आलोचना गर्दै आएका थापालाई लक्षित गरेर निगरानी बढाइएको र पक्राउ गर्नेसम्मको तयारी भइरहेको सूचना आफूहरूले पाएको उनको सचिवालयको दाबी छ।

 

Advertisement:

Ad

प्रहरी हिरासतमा रहेका इनम सापकोटाले कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा दिएको भनिएको बयान प्रधानमन्त्री शाहको सचिवालयको योजनामा सार्वजनिक गरिएको आरोप कांग्रेसले लगाउँदै आएको छ। यही विषयलाई लिएर सरकारसँग असन्तुष्ट कांग्रेस पछिल्लो समय थप आक्रामक बनेको छ।कात्तिक १५ गते सभापति थापाले सरकारका गतिविधिविरुद्ध कडा अभिव्यक्ति दिएपछि उनीमाथि निगरानी बढाइएको उनको सचिवालयको भनाइ छ। प्रधानमन्त्री शाह र थापाबीच सामाजिक सञ्जालमा सार्वजनिक भएका अभिव्यक्तिले पनि पछिल्लो राजनीतिक तनावलाई थप उजागर गरेको छ।

 

आइतबार साँझ करिब ७ बजे प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै एक–दुई जनालाई उम्किन नदिने चेतावनी दिएका थिए। उनले लेखेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

 

त्यसको भोलिपल्ट सोमबार साँझ ६ बजे सभापति थापाले पनि सामाजिक सञ्जालबाटै जवाफ फर्काए। ‘अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन,’ उनको प्रतिक्रिया थियो।

 

थापाको सचिवालयका सदस्यहरूका अनुसार न्यौपाने थरका एक डीएसपीको नेतृत्वमा रहेको प्रहरी टोलीले केही दिनदेखि सभापतिका गतिविधि पछ्याइरहेको छ। घर, सम्पर्क कार्यालय, पार्टी कार्यालय र उनी नियमित भेटघाट गर्ने स्थानमा समेत प्रहरीको निगरानी रहेको उनीहरूको दाबी छ।

 

ती अधिकारीका अनुसार तिहारअघि नै केही व्यक्तिलाई पक्राउ गर्ने योजनाका बीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बुधबार हटाइएको हो। प्रधानमन्त्री शाह कार्कीलाई हटाउने विषयमा पहिलेदेखि नै स्पष्ट रहेको उनको दाबी छ।