नाडा अटो शो : आकर्षक कर्जा अफर गर्दै बैंकहरु, कुनको कस्तो छ स्किम ?

२०८१ भदौ ११ गते

नाडा अटो शो : आकर्षक कर्जा अफर गर्दै  बैंकहरु, कुनको कस्तो छ स्किम ?

काठमाडौं । नाडा अटो शो २०२४ मा बैंकहरूले विभिन्न आकर्षक कर्जा अफरहरू प्रस्तुत गर्दै ग्राहकलाई सस्तो ब्याजदरमा सवारीसाधन कर्जा दिने भएका छन्। बैंकहरूले शोमा भाग लिँदै विद्युतीय र इन्धन सवारीसाधनको कर्जा स्किम सार्वजनिक गरेका हुन् ।

यस वर्षको मेलामा ९५ प्रदर्शकका १३० वटा स्टल राखिने भएको छ । जसमा ७ वटा बैंकले आफ्ना सस्तो अटो लोन स्किम सहित सहभागिता जनाउने भएका छन्। जसबाट ग्राहकलाई अत्यन्त प्रतिस्पर्धात्मक दरमा कर्जा उपलब्ध गराउनेछ।

Advertisement:

Ad
Ad

६ वटा वाणिज्य बैंक र एक विकास बैंक  (जसमा हिमालयन, ग्लोबल आइएमई, नबिल, सानिमा, माछापुच्छ्रे, लक्ष्मी सनराइज र महालक्ष्मी विकास बैंक) समावेश छन् । नाडा अटो शोमा प्रतिस्पर्धात्मक ब्याजदरमा सवारी कर्जा स्किम प्रस्तुत गर्दैछन्। यी बैंकहरूले विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राख्दै ७.९९५ देखि १०.५५५ सम्मको ब्याजदरमा ८ वर्षसम्मको सवारी कर्जा उपलब्ध गराउनेछन्।

माछापुच्छ्रे बैंकले नाडा शोमा सहभागी भएर चारपांग्रे सवारी खरिद गर्नेका लागि परिवर्तित ब्याजदरमा ९ प्रतिशत ब्याजमै सवारी कर्जा उपलब्ध गराउनेछ। बैंकले बेसरेटमा १ प्रतिशत मात्रै प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरेको हो। हाल बैंकको बेसरेट ८ प्रतिशत छ।

सानिमा बैंकले नाडा मेलामा आउने ग्राहकलाई ८.४९ प्रतिशतदेखि १०.५५ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराउने भएको छ। बैंकले परिवर्तित ब्याजदरमा ८.५५ प्रतिशत रहेको बेसरेटमा २ प्रतिशत प्रिमियम जोडेर १०.५५ प्रतिशतमै सवारी कर्जा उपलब्ध गराउनेछ।

नबिल बैंकले नाडा मेलामा सवारी खरिद गर्ने ग्राहकका लागि ५ वर्षसम्मका लागि ८.२५ प्रतिशत र ७ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदर तोकेको छ। यस्तो कर्जा स्किम बैंकले विद्युतीय र इन्धन दुवैका लागि ल्याएको हो।

ग्लोबल आइएमई बैंकले नाडा मेलामा न्यूनतम ७.९९ प्रतिशतदेखि अधिकतम ९.४९ प्रतिशत ब्याजदरमै सवारी कर्जा दिने भएको छ।

लक्ष्मी सनराइज बैंकले नाडा मेलामा विद्युतीय सवारी खरिद गर्न कर्जा लिनेलाई ८.९९ प्रतिशतमै कर्जा उपलब्ध गराउनेछ। बैंकले ०.५ प्रतिशत सेवाशुल्क लिएर यस्तो कर्जा ७ वर्षका लागि स्थिर ब्याजदरमा उपलब्ध गराउने भएको हो।

हिमालयन बैंकले १४औं नाडा अटो मेलाका लागि परिवर्तित ब्याजदरमा ९.५१ प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ। बैंकले बेसरेटमा विद्युतीय सवारीका लागि ०.५३ प्रतिशत प्रिमियम जोडेर ९.३६ प्रतिशतमा र इन्धन सवारीका लागि ०.६५ प्रतिशत प्रिमियम जोडेर ९.५१ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको हो।