क्यान इन्फोटेक हेर्न कलाकारदेखि नेतासम्म पुगे, सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड

२०८० माघ २९ गते

क्यान इन्फोटेक हेर्न कलाकारदेखि नेतासम्म पुगे, सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड

काठमाडौं । राजधानीको भृकुटीमण्डमा माघ २५ देखि जारी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा प्रविधिप्रेमीहरुको घुँइचो लागेको छ । २९औं संस्करणको यस प्रदर्शनीलाई चौंथो दिन सकिँदासम्म विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्ने व्यक्तिहरूसँगै कलाकार, खेलाडी, अभियन्ता, राजनीतिज्ञ, नीति निर्माता तथा विभिन्न तहका सरकारका प्रतिनिधिहरूले अवलोकन गरेका छन् ।

आइतबारबाटै संघीय सरकारका मन्त्री, प्रतिनिधिसभा सदस्यहरू, प्रदेश सरकारका मन्त्री तथा प्रदेश सांसदहरू, विभिन्न आयोगका प्रतिनिधिहरू तथा नीति निर्माण तहका अधिकारीहरू, विभिन्न पालिकाका प्रमुखरउपप्रमुखहरूले इन्फोटेक अवलोकन गरेका छन् ।

Advertisement:

Ad
Ad

यस अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, पूर्वमन्त्री तथा सांसद प्रकाशमान सिंह, सांसदहरू सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, ज्ञानेन्द्र शाही, गणेश पराजुली लगायत क्यान इन्फोटेकमा राखिएका प्रविधिहरू हेर्न पुगेका थिए ।

त्यस्तै सांसद एवं कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही, कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण बहादुर जिसी, सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का आईटी विज्ञ प्रकाश रायमाझी, पूर्व उप प्रधानमन्त्री प्रकाश मान सिंह, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, माओवादीको युवा संगठन वाईसीएलका अध्यक्ष सुवोधराज श्रीपाली, काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमन नरसिंह राजभण्डारी, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर लगायतले क्यान इन्फोटेकको प्रत्यक्ष अवलोकन गरेका थिए ।

त्यस्तै देशका विभिन्न पालिकाका प्रमुखरउपप्रमुहरू, नेपाल विज्ञान प्रविधि प्रतिष्ठान ९नास्ट० तथा नेपाल टेलिकमका उच्च तहका अधिकारीहरूले समेत आइतबार प्रदर्शनीको अवलोकन गरेका थिए । सो अवसरमा उनीहरूले डिजिटल नेपाल निर्माणका लागि क्यान इन्फोटेक जस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका हुने तथा सूचना सञ्चार प्रविधि क्षेत्रलाई राष्टिय प्राथमिकता बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । साथै नेपाली प्रतिभा र आविष्कारलाई प्रोत्साहन गर्नेगरी प्रभावकारी कार्यक्रम ल्याउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

यसअघि इन्फोटेकमा कलाकारहरू सञ्जोक कोइरालादेखि महानायक राजेश हमालसम्म र राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल लगायत पनि पुगेका थिए । सोमबारसम्म सञ्चालन भएको ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, फिन्टेक प्रविधि, ईकमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ ।

क्यानका महासचिव चिरञ्जीवी अधिकारीले क्यान इन्फोटेक मेला मात्र नभएर सूचना प्रविधि प्रदर्शनी भएको बताए । “यसलाई मेला भन्ने भाष्य परिवर्तन गर्नुपर्छ । यो इन्नोभेटिभ आइडिया र स्टार्टअपको एक्सपो पनि हो । अहिले इन्फोटेक सफ्टवेयर, प्रोडक्ट र सोलुसन एवं आइडियाको खानी हो,” उनले भने ।

यसअन्तर्गत मसिन लर्निङमा आधारित नेपाली रोबोट ‘कान्छी’देखि डिजिटल ठेगाना तयार पारिदिने ‘कता हो’ प्लेटफर्मसम्ममा आकर्षण देखिएको छ । त्यस्तै एफवन सफ्ट ग्रुपले हालै ल्याएको ‘जुम जुम’ नामको राइड शेयरिङ सेवाबारे पनि अवलोकनकर्ताले चासो देखाएका छन् । त्यस्तै स्वदेशी सफ्टवेयर निर्माताका उत्पादनमा पनि धेरैको झुकाव देखिएको छ ।

त्यस्तै इन्फोटेकको विशेष आकर्षणको रूपमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानले तयार पारेको आईसीटीमैत्री बस रहेको छ । हालसम्म ५०० भन्दा बढीले यो बसको प्रत्यक्ष अवलोकन तथा अनुभव लिएको नास्टले जनाएको छ ।

करिब १५० स्टल रहेको इन्फोटेकमा सहभागी कम्पनीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धनका अतिरिक्त आकर्षक छुट र अफर दिइएको थियो । यसअन्तर्गत कम्पनीहरूले वस्तु खरिद एवं बुकिङमा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरेका थिए ।

क्यान महासंघका अध्यक्ष रणजीत पोदारले एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ मार्फत विश्वबजार र स्थानीय बजारमा आएका नवीनतम प्रविधि र अभ्यासबारे एकै थलोमा हेर्न, बुझ्न र छलफल गर्न सम्भव भएको बताए । उनका अनुसार यसपटक अनावश्यक भिडभन्दा सूचना प्रविधि बुझेका वा उत्सुक अवलोकनकर्ताहरु बढी आएका थिए ।