२०८३ भदौ ३० गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको विस्तार, वित्तीय पहुँच वृद्धि र फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित पाँचवर्षे रणनीतिक अघि सारेको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार पारेको रणनीतिक ढाँचाले नेपालमा सुरक्षित, विश्वसनीय, समावेशी, नवीन र अन्तरसञ्चालित डिजिटल वित्तीय प्रणाली विकास गर्ने लक्ष्य लिएको छ। रणनीतिले डिजिटल वित्तीय सेवामार्फत वित्तीय पहुँच र वित्तीय गहिराइ बढाउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने परिकल्पना गरेको छ।
रणनीतिअनुसार डिजिटल वित्तीय सेवा र फिनटेकको जिम्मेवार विकासका लागि सक्षम नीति, प्रभावकारी नियमन, बलियो डिजिटल पूर्वाधार, सरोकारवालाबीच सहकार्य र प्रभावकारी सुपरिवेक्षणमा जोड दिइनेछ।
डिजिटल सेवाको पहुँच विस्तारदेखि लागत घटाउनेसम्म
रणनीतिक ढाँचाले डिजिटल वित्तीय सेवाको पहुँच र प्रयोग विस्तार गर्न नीतिगत सुधार गर्ने लक्ष्य राखेको छ। वित्तीय क्षेत्रमा प्रतिस्पर्धा बढाउने, वित्तीय सेवाका विकल्प विस्तार गर्ने तथा डिजिटल प्रविधिको प्रयोगमार्फत वित्तीय सेवाको लागत घटाउने विषयलाई समेत प्राथमिकतामा राखिएको छ। त्यस्तै, डिजिटल वित्तीय प्रणालीबाट उत्पन्न हुन सक्ने वित्तीय स्थायित्वसम्बन्धी जोखिमलाई सम्बोधन गर्ने विषयलाई पनि रणनीतिको महत्वपूर्ण उद्देश्यका रूपमा राखिएको छ।
फिनटेक रणनीतिले डिजिटल वित्तीय सेवाबाट लाभान्वित हुने लक्षित समूहमा लघु, साना तथा मझौला उद्यम ९ःक्ःभ्क०, ग्रामीण क्षेत्र, युवा, महिला, बालबालिका तथा गिग अर्थतन्त्रमा आबद्ध वर्गलाई विशेष प्राथमिकता दिएको छ।
यसले डिजिटल वित्तीय सेवाको विस्तारलाई केवल प्रविधि र वित्तीय संस्थाको विषयमा सीमित नराखी वित्तीय पहुँचबाट पछाडि परेका समूहसम्म पुर्याउने रणनीति लिएको देखिन्छ।
तीन प्रमुख स्तम्भमा आधारित रणनीति
राष्ट्र बैंकको रणनीतिक ढाँचा तीन प्रमुख स्तम्भमा आधारित छ। पहिलो स्तम्भ—पूर्वाधार विकास अन्तर्गत आधुनिक डिजिटल पूर्वाधार निर्माण तथा नियामकीय र सुपरिवेक्षकीय प्रविधिको विकासलाई प्राथमिकता दिइएको छ।
दोस्रो स्तम्भ—नीति, नियमन तथा सुशासन अन्तर्गत फिनटेकमैत्री नियामकीय संरचना विकास, फिनटेक क्षेत्रका खेलाडीबीच समान प्रतिस्पर्धाको वातावरण निर्माण तथा सुरक्षित र लचिलो डिजिटल वित्तीय सेवा प्रवाह सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
तेस्रो स्तम्भ—फिनटेक इकोसिस्टम विकास अन्तर्गत वित्तीय उत्पादन तथा सेवाका विकल्प विस्तार, नवप्रवर्तनलाई सहयोग, डिजिटल वित्तीय साक्षरता तथा सशक्तीकरण, नियामकीय समन्वय र सहकार्य तथा नियामक एवं सुपरिवेक्षकीय क्षमता विकासमा जोड दिइएको छ।
सुरक्षित र समावेशी डिजिटल वित्तीय प्रणाली बनाउने लक्ष्य
रणनीतिको अपेक्षित परिणामका रूपमा सुरक्षित, विश्वसनीय, समावेशी, नवीन, अन्तरसञ्चालित र लचिलो डिजिटल वित्तीय इकोसिस्टम निर्माण गर्ने उल्लेख छ। यसबाट डिजिटल वित्तीय सेवाको पहुँच, प्रयोग र गुणस्तर बढाउने, जिम्मेवार फिनटेक नवप्रवर्तनलाई बलियो बनाउने तथा नियामक र अन्य सरोकारवालाबीचको सहकार्य सुदृढ गर्ने लक्ष्य राखिएको छ। अन्ततः यसले दिगो आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया