२०८१ भदौ १० गते
काठमाडौं । भोलि मंगलबारदेखि नाडा अटो शो २०२४ सुरु हुँदै छ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सहभागीहरूले धमाधम स्टल निर्माण गरिरहेका छन्।
अटो शोको औपचारिक उद्घाटन मंगलबार बिहान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने छन्। ६ दिनसम्म चल्ने अटो शोमा नेपाली बजारमा उपलब्धमध्ये अधिकांश सवारी ब्रान्ड सहभागी छन्।

नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बोलवाला नै रहेको छ।
अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्। त्यस्तै बीमा कम्पनी शिखर इन्सुरेन्स र ७ वटा बैंकका स्टल रहने छन्।

नेपाली अटोमोबाइल्स उद्योगलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित हुने नाडा अटो शो भदौ ११ देखि १६ सम्म हुनेछ। यस वर्षको नाडा अटो शोमा विद्युतीय सवारीसाधन (ईभी)को वर्चस्व देख्न सकिनेछ। अटो व्यवसायीले नाडा अटो शोका लागि अवतार ११, जेक्को जे सिक्स, राडार, बीएडब्लु ब्रम्बी ह्याचब्याग, काई, एक्सपेङ, लिपमोटर, डङफेङ, जिकर एक्स जस्ता नयाँ ब्रान्ड भित्र्याएका छन्।
त्यस्तै, पहिल्यै नेपाल भित्रिसकेका जीएजी आयोन, आमोडा, बिवाइडी, सुजुकि, महिन्द्रा, हुन्डाई, टाटा, सेरेस, डिपल, एमजी, भोल्ट्स, स्काईवेल, सिट्रोन, किया, होजोनलगायत ब्रान्डका नयाँ मोडलका गाडी नाडा अटो शोमा देख्न पाइनेछ।
#nada auto show 2024
प्रतिक्रिया