२०८१ कात्तिक ०६ गते
काठमाडौं । भिस्तारा एयरलाइन्सको जहाजमा बम नभएको पुष्टि भएको छ । जहाज मंगलबार साँझ ८:२६ मिनेटमा दिल्ली प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थल सञ्चालन विभाग प्रमुख एवं प्रवक्ता रिन्जी शेर्पाले चेकजाँचमा कुनै शंकास्पद् बस्तु फेला नपरेको बताए।
भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको युके १५५ उडान नम्बरको जहाजमा बम रहेको सूचना प्राप्त भएपछि आवश्यक सतर्कता अपनाइएको थियो। उक्त जहाज मंगलबार दिउँसो ४:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
"हल्ला गरेजस्तो सर्च अपरेशनमा केही भेटिएन,शंकास्पद् बस्तु फेला नपरेपछि एयरबस नयाँ दिल्ली फर्किएको छ,शेर्पाले भने । अवतरणको क्रममा उक्त विमानमा बम रहेको सूचना आएपछि काठमाडौं अवतरण गरेसँगै जहाजमा सवार यात्रु, लगेजको चेकजाँच गरिएको थियो। नेपाली सेनाको टोलीले कुकुरसहितको टोली परीक्षण गरेर चेकजाँच गरेको विमानस्थल सञ्चालन विभाग प्रमुख एवं प्रवक्ता रिन्जी शेर्पाले बताए। भारतको एउटा ह्वाट्स एप नम्बरबाट भिस्ताराको जहाजमा बम राखिएको कल आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ३ घण्टासम्म तनावग्रस्त बनेको थियो ।
प्रतिक्रिया