श्याकम्यानको इलेक्ट्रिक ट्रक नेपाली बजारमा, सुरूवाती मूल्य २ करोड ५ लाख

२०८३ असोज १६ गते

श्याकम्यानको इलेक्ट्रिक ट्रक नेपाली बजारमा, सुरूवाती मूल्य २ करोड ५ लाख

चिनियाँ ब्रान्ड श्याकम्यानको  विद्युतीय ट्रक नेपाली बजारमा आएको छ। शंखर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले श्याकम्यानको विद्युतीय ट्रक नेपाली बजारमा ल्याएको हो।

कम्पनीले श्याकम्यान एक्स५०००ई  दुई भेरियन्ट डम्प ट्रक र प्राइम मुभर सार्वजनिक गरेको हो।

Advertisement:

Ad

नेपाली बजारमा श्याकम्यान एक्स५०००ईका विभिन्न संस्करणको मूल्य २ करोड ५ लाख रुपैयाँदेखि २ करोड ३५ लाख रुपैयाँसम्म तोकिएको छ। 

यो निर्माण तथा भारी ढुवानीमा प्रयोग गर्न लक्षित विद्युतीय डम्प ट्रक हो।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले पछिल्ला ४र५ वर्षमा नेपाल विद्युतीय सवारीसाधनको प्रयोगमा धेरै अगाडि बढिसकेको बताए। नेपालमा स्वच्छ ऊर्जा उत्पादन हुने भए पनि पेट्रोलियम पदार्थमा ठूलो निर्भरता रहेकाले विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ।

‘नेपाल ईभीमा विश्वमै अगाडि हुनुपर्छ। हाम्रो देशमा स्वच्छ ऊर्जा उत्पादन हुन्छ तर पेट्रोलियम पदार्थमा निर्भर हुनुपरेको छ,’ गुप्ताले भने, ‘काम र कमाइबाट अर्थतन्त्र निर्माण गर्नुपर्छ। त्यसका लागि विद्युतीय ट्रकले पनि ठूलो योगदान दिन सक्छ।’

उनका अनुसार व्यावसायिक ट्रकमा सबैभन्दा ठूलो खर्च डिजेल तथा मर्मतसम्भारमा हुने गरेको छ। विद्युतीय ट्रकको सुरुवाती खरिद मूल्य केही बढी भए पनि लामो समयको सञ्चालन खर्चमा ठूलो बचत हुने उनले बताए।

‘सुरुमा गाडी किन्दाको मूल्यभन्दा सञ्चालन खर्च महत्वपूर्ण हुन्छ। ईभी ट्रकले दैनिक सञ्चालन खर्च घटाउँछ। यसले व्यवसायको दैनिक नगद प्रवाह कम गर्नुका साथै कार्यशील पुँजीलाई समेत बलियो बनाउन मद्दत गर्छ,’ गुप्ताले भने।

गुप्ताका अनुसार विद्युतीय ट्रक सञ्चालनमा ऊर्जा खर्च डिजेल ट्रकको तुलनामा निकै कम पर्छ। उनका अनुसार विद्युतीय ट्रकमा प्रतिकिलोमिटर करिब ३० रुपैयाँ खर्च हुन्छ भने डिजेल ट्रकमा यही दूरीका लागि करिब १३६ रुपैयाँ खर्च हुने गरेको छ।

यस हिसाबले विद्युतीय ट्रक सञ्चालन गर्दा इन्धन तथा ऊर्जा खर्चमै ठूलो बचत हुने उनको भनाइ छ। वार्षिक हिसाबमा विद्युतीय ट्रकको सञ्चालन खर्च डिजेल ट्रकको तुलनामा करिब ६० प्रतिशत मात्रै हुने उनले बताए।

‘डिजेलको तुलनामा ईभी ट्रकमा वार्षिक खर्च करिब ६० प्रतिशत मात्रै आउँछ। यसले ग्राहकलाई प्रत्यक्ष बचत दिन्छ,’ उनले भने।

उनका अनुसार डिजेल ट्रकको तुलनामा विद्युतीय ट्रक प्रयोग गर्दा वार्षिक रूपमा करिब २३ देखि २५ लाख रुपैयाँसम्म बचत हुन सक्ने अनुमान छ। यस्तो बचत विशेषगरी नियमित रूपमा लामो दूरी तथा भारी ढुवानीमा प्रयोग हुने ट्रकका लागि महत्वपूर्ण हुने उनको भनाइ छ। 

कम्पनीका अनुसार ट्रकमा अधिकतम ३४० किलोवाटको पिक पावर र २८०० एनएमको पिक टर्क रहेको छ। यसमा ३१० किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ९एलएफपी० ब्याट्री प्रयोग गरिएको छ।

ट्रकमा ब्याट्री स्वापको सुविधा समेत रहेको कम्पनीले जनाएको छ। ब्याट्री स्वाप गर्दा करिब ५ मिनेटमै ब्याट्री परिवर्तन गर्न सकिने दाबी गरिएको छ। त्यस्तै, डुअल गन फास्ट चार्जरबाट करिब एक घण्टामा चार्ज गर्न सकिने कम्पनीको भनाइ छ।

ट्रकको ग्राउन्ड क्लियरेन्स २९५ मिलिमिटर रहेको छ। निर्माण तथा कठिन भूभागमा सञ्चालनलाई लक्षित गरेर यसको डिजाइन गरिएको कम्पनीले जनाएको छ।

श्याकम्यानका ट्रकहरू विश्वका करिब १५० देशमा बिक्री हुँदै आएको गुप्ताले बताए।

नेपाली बजारमा श्याकम्यान एक्स५०००ईका विभिन्न संस्करणको मूल्य २ करोड ५ लाख रुपैयाँदेखि २ करोड ३५ लाख रुपैयाँसम्म तोकिएको छ।

गुप्ताका अनुसार सुरुवाती खरिद मूल्यलाई मात्रै हेरेर विद्युतीय ट्रक महँगो देखिए पनि नियमित सञ्चालनमा हुने इन्धन तथा मर्मत खर्चलाई जोडेर हेर्दा यसको आर्थिक लाभ महत्वपूर्ण हुन्छ।

विशेषगरी जलविद्युत् आयोजना, निर्माण क्षेत्र तथा नियमित रूपमा भारी सामान ढुवानी गर्ने व्यवसायमा सञ्चालन खर्च घटाउन विद्युतीय ट्रक उपयोगी हुने उनको भनाइ छ।