सवारी साधन दर्तामा देखिएका समस्या समाधान गर्न नाडा र काठमाडौँ प्रशासनबीच छलफल

२०८३ असोज १६ गते

सवारी साधन दर्तामा देखिएका समस्या समाधान गर्न नाडा र काठमाडौँ प्रशासनबीच छलफल

काठमाडौँ । सवारी साधन दर्ता प्रक्रियामा देखिएका समस्या समाधानका विषयमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) र काठमाडौँ जिल्ला प्रशासन कार्यालयबीच छलफल भएको छ ।

नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले असोज १४ गते काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारी साधन दर्तामा देखिएका समस्याबारे छलफल गरेको हो ।

Advertisement:

Ad

भेटमा महासचिव मल्लले चाडपर्व नजिकिँदै गएको र यातायात व्यवस्था कार्यालयमा सवारी साधन दर्ताको चाप बढेको अवस्थामा सीमित जनशक्तिका कारण सेवाग्राही तथा कम्पनीका प्रतिनिधिको काम समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको बताए ।

कम्पनीका प्रतिनिधिले आवश्यक कागजात पेस गरी दर्ता प्रक्रियामा सहजीकरण गरे पनि कार्यालयको नियमित प्रक्रिया र कर्मचारीको कार्यचापका कारण दर्ता प्रक्रिया अपेक्षाकृत बढी समय लाग्ने गरेको नाडाले जनाएको छ । उक्त समस्या तत्काल समाधान गर्न आवश्यक सहयोग र समन्वयका लागि नाडाले आग्रह गरेको थियो ।

छलफलका क्रममा नाडाका सचिव तथा टू ह्वीलर समितिका सभापति मेघराज पौडेलले असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग नाडा प्रतिनिधिले भेट गरी समस्या समाधानबारे छलफल गरिसकेको जानकारी दिए ।

जवाफमा प्रमुख जिल्ला अधिकारी पौडेलले सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूसँग छलफल तथा समन्वय गरी सवारी साधन दर्तामा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य विमल साह तथा नाडा टू ह्वीलर समितिका सदस्य योगेन गुरुङ र दीपक रौनियारको समेत सहभागिता थियो ।