२०८३ असोज २५ गते
काठमाडौं । चाँदीमा लगानी गर्न चाहनेका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले डिजिटल माध्यमबाटै कारोबार गर्न सकिने सुविधा ल्याएको छ। कम्पनीले ‘एचबीसी सिल्भर’ नामक मोबाइल एप सार्वजनिक गर्दै चाँदी खरिद, लगानीको मूल्यांकन र भण्डारण प्रक्रियालाई प्रविधिसँग जोडेको हो।
नयाँ एपको सहायताले प्रयोगकर्ताले मोबाइलबाटै चाँदी खरिद गर्न, आफूसँग रहेको चाँदीको परिमाण हेर्न र त्यसको वर्तमान बजार मूल्यबारे जानकारी लिन सक्नेछन्। यसले चाँदीमा भौतिक लगानी गर्न चाहनेलाई कारोबार व्यवस्थापन गर्न सहज बनाउने कम्पनीको अपेक्षा छ।
एप प्रयोग गर्न खाता खोल्ने प्रक्रिया सरल बनाइएको कम्पनीले जनाएको छ। यद्यपि, पहिलोपटक चाँदी खरिद गर्दा प्रचलित नियामकीय व्यवस्थाअनुसार स्थायी लेखा नम्बर ९प्यान० र फोटोसहितको ग्राहक पहिचान विवरण प्रमाणित गर्नुपर्नेछ।
प्रयोगकर्ताले एपमा उपलब्ध खरिद विकल्पमार्फत तत्कालीन बजार मूल्यमा चाँदी किन्न सक्नेछन्। खरिदको भुक्तानी कनेक्टआईपीएस वा एचबीसीको विद्युतीय खातामार्फत गर्न सकिने व्यवस्था गरिएको छ।
खरिद गरेको चाँदी सुरक्षित भण्डारणमा
एपबाट खरिद गरिएको चाँदीको भुक्तानी पूर्ण नभएसम्म बिमा गरिएको सुरक्षित भण्डारण कक्षमा राखिने कम्पनीले जनाएको छ। प्रयोगकर्ताले आवश्यकताअनुसार पूर्वनिर्धारित समय मिलाएर आफ्नो चाँदी बुझिलिनसमेत सक्नेछन्।
एपमा लगानीकर्ताले आफूसँग रहेको चाँदीको परिमाण र त्यसको हालको बजार मूल्य हेर्न सक्ने सुविधा पनि समावेश गरिएको छ। यसबाट चाँदीको मूल्यमा हुने परिवर्तनअनुसार आफ्नो लगानीको अवस्था बुझ्न र त्यसको अभिलेख राख्न सहज हुने कम्पनीको विश्वास छ।
एन्ड्रोइड र आईफोन दुवैमा उपलब्ध
‘एचबीसी सिल्भर’ एप एन्ड्रोइड र एप्पलका आईफोन दुवैमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। एप सञ्चालन, खाता खोल्ने प्रक्रिया तथा अन्य सेवासम्बन्धी जानकारीका लागि हिमालयन बुलियनको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ।
भौतिक चाँदीमा लगानी गर्ने परम्परागत प्रक्रियालाई डिजिटल माध्यमबाट सहज बनाउने उद्देश्यसहित कम्पनीले यो एप सार्वजनिक गरेको हो।
प्रतिक्रिया