आर्थिक वृद्धि र वित्तीय स्थायित्वमाथि बहस गर्न राष्ट्र बैंकले बोलायो विश्वभरका विज्ञ

२०८३ असोज २० गते

आर्थिक वृद्धि र वित्तीय स्थायित्वमाथि बहस गर्न राष्ट्र बैंकले बोलायो विश्वभरका विज्ञ

काठमाडौं । नेपाल राष्ट्र बैंकले चौथो अन्तर्राष्ट्रिय अर्थशास्त्र तथा वित्त सम्मेलन आयोजना गर्ने भएको छ । बैंकले सन् २०२७ अप्रिल २ र ३ गते काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको हो ।

 

Advertisement:

Ad

 ‘आर्थिक वृद्धि र समष्टिगत वित्तीय स्थायित्वः जोखिम तथा चुनौती’ मुख्य विषयवस्तुमा सम्मेलन आयोजना गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । सम्मेलनमा नीति निर्माता, वित्तीय क्षेत्रका अभ्यासकर्ता तथा अनुसन्धानकर्ताहरूलाई सहभागी गराइनेछ । सम्मेलनका लागि राष्ट्र बैंकले शोधपत्रसमेत आह्वान गरेको छ । आर्थिक वृद्धि, वित्तीय स्थायित्व तथा केन्द्रीय बैंकका प्रमुख उद्देश्य र कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित शोधपत्रलाई प्राथमिकता दिइनेछ ।

 

सम्मेलनमा वृद्धि तथा विकास, अन्तर्राष्ट्रिय व्यापार, वित्त तथा लगानी, समष्टिगत–वित्तीय सम्बन्ध, स्थायित्व तथा मौद्रिक नीति र वित्तीय नवप्रवर्तन तथा उत्थानशीलता गरी चार प्रमुख विषयअन्तर्गत शोधपत्र प्रस्तुत गर्न सकिनेछ । वृद्धि तथा विकास अन्तर्गत संस्थागत संरचना, मानव पुँजी, आर्थिक वृद्धि, वित्त र आर्थिक विकास, जलवायुजन्य धक्का, आर्थिक प्रतिस्पर्धा, सार्वजनिक ऋण, वित्तीय दिगोपन, विप्रेषण, श्रम आपूर्ति तथा औद्योगिकीकरणजस्ता विषय समेटिएका छन् ।

 

त्यस्तै, अन्तर्राष्ट्रिय व्यापार, वित्त तथा लगानीतर्फ व्यापार उदारीकरण, व्यापार अवरोध, उत्पादकत्व, विप्रेषण, स्रोत विनियोजन, पुँजी प्रवाह, ब्याजदर तथा विनिमय दर, विदेशी मुद्रा सञ्चिति, चालु तथा पुँजी खाता, बचत र लगानीलगायतका विषयमा शोधपत्र पेश गर्न सकिनेछ । समष्टिगत–वित्तीय सम्बन्ध तथा मौद्रिक नीतितर्फ आर्थिक चक्र, समष्टिगत जोखिम, वित्तीय अन्तरसम्बन्ध, कर्जा जोखिम, म्याक्रो स्ट्रेस टेस्टिङ, वित्तीय जोखिम, म्याक्रोप्रुडेनसियल नीति तथा मौद्रिक नीतिसम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ ।

 

त्यसैगरी वित्तीय नवप्रवर्तन तथा उत्थानशीलतातर्फ केन्द्रीय बैंक डिजिटल मुद्रा  क्रिप्टोकरेन्सी, स्टेबल क्वाइन, रेगटेक, सुपटेक, फिनटेक, पोटेक, वित्तीय समावेशिता, डिजिटल व्यापार, ब्लकचेन, क्रस–बोर्डर भुक्तानी, कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, डिसेन्ट्रलाइज्ड फाइनान्स, क्लाइमेट फाइनान्स तथा ग्रिन इनोभेसन लगायतका विषय समेटिएका छन् ।

 

माघ मसान्तसम्म शोधपत्र बुझाउनुपर्ने

राष्ट्र बैंकका अनुसार सम्मेलनमा प्रस्तुत गर्न चाहनेले सन् २०२७ जनवरी ३१ अर्थात् २०८३ माघ १७ गतेसम्म पूर्ण शोधपत्र बुझाइसक्नुपर्नेछ । सम्मेलनले एब्स्ट्र्याक्ट वा एक्सटेन्डेड एब्स्ट्र्याक्ट भने स्वीकार नगर्ने जनाएको छ । शोधपत्र मौलिक तथा यसअघि प्रकाशित नभएको हुनुपर्नेछ । प्राप्त शोधपत्र ब्लाइन्डरपियर रिभ्यु प्रक्रियाबाट मूल्यांकन गरिनेछ ।


सम्मेलनमा सहभागी हुन शुल्क नलाग्ने

सम्मेलनमा प्रस्तुतकर्ता तथा सहभागी दुवैका लागि दर्ता शुल्क नलाग्ने व्यवस्था गरिएको छ । सहभागी हुन चाहनेले सन् २०२७ मार्च ३ अर्थात् २०८३ फागुन १९ गतेसम्म अनलाइन दर्ता गर्नुपर्नेछ ।सम्मेलनका क्रममा सहभागीलाई खाना तथा रात्रिभोजको व्यवस्था गरिनेछ भने यात्रा तथा आवासको खर्च भने स्वयं प्रस्तुतकर्ता वा सहभागीले व्यहोर्नुपर्नेछ । राष्ट्र बैंकले सम्मेलनका लागि शोधपत्र स्वीकृत भएको जानकारी फेब्रुअरी २०, २०२७ मा दिने जनाएको छ । सम्मेलन भने अप्रिल २ र ३ मा काठमाडौंमा हुनेछ ।