साधारणसभा आउन एक हप्ता अघि इप्पानमा चर्कियो विवाद : चुनाव अघि विधान संशोधनको दवाब

२०८३ जेठ २१ गते

साधारणसभा आउन एक हप्ता अघि इप्पानमा चर्कियो विवाद : चुनाव अघि विधान संशोधनको दवाब

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) २४औँ वार्षिक साधारणसभाको संघारमा पुग्दा नेतृत्व चयन र विधान संशोधनको बहस तीव्र बनेको छ।

 

Advertisement:

Ad
Ad

एक पक्षले २३औँ साधारणसभाले गरेको ‘महासंघ’ बनाउने निर्णय कार्यान्वयन गर्दै विधान संशोधनपछि मात्रै निर्वाचन हुनुपर्ने अडान लिएको छ। उनीहरू नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिन पदहरू खुला प्रतिस्पर्धाका लागि खोल्नुपर्ने बताउँछन् भने अर्को पक्ष पुरानै विधानअनुसार तत्काल निर्वाचन गराएर संस्थालाई अघि बढाउनुपर्ने पक्षमा छ।

विधान संशोधनको पक्षमा उपपमहासचिव प्रकाश दुलाल र महासचिव बलराम खतिवडा लगायतका अन्य केहि प्रवर्द्धकहरू रहेका छन् । उनीहरुले विधान संशोधन गरेर मात्र निर्वाचनमा जान मिल्ने अडान लिएका छन् । दुलाल र खतिवडाका अनुसार संस्थाको सर्वोच्च अङ्ग (साधारण सभा)को निर्णयलाई कार्यान्वयन गर्नु कार्यसमितिको कानुनी र नैतिक दायित्व हो ।

 

‘इप्पानमा हाल बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने परम्परा रहेको छ । दुलालले वरिष्ठ उपाध्यक्ष वा अध्यक्षका लागि सबै पदहरू खुला गरिनुपर्ने जोसुकै सक्षम सदस्यले पनि नेतृत्वका लागि खुला प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्न माग गरेका छन् ।

 

उता हालकै विधानलाई आत्मसाथ गर्दै वरिष्ठ उपाध्यक्ष पदका लागि उत्तम भ्लोन लामाले आफ्नो टिमसहितको पदाधिकारीको करिब १५ दिन अगाडि प्यानल नै घोषणा गरिसकेका छन् । भ्लोन पक्षधर पुरानै विधानको निरन्तरताको पक्षमा उभिएका छन् । उनीहरूको जोड सबै मिलेर तत्काल निर्वाचन गराइ संस्था मजवुत बनाउनुपर्नेमा छ । 

 

हालका बरिष्ठ उपाध्यक्ष मोहन डाँगी २३औँ साधारण सभाको निर्णयहरू यथावत रहेको अवस्थामा ईप्पानलाई चिरा पार्ने हिसावले मिडिया खपतको लागि गैरजिम्मेवार आरोप लगाइएको जुन स्विकार्य नभएको बताउँछन् । विधान संशोधनका लागि भन्दै हाल केही सदस्यहरू हस्ताक्षर अभियानमा समेत जुटेको बुझिएको छ । 

 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा आगामी जेठ २९ गतेका लागि तय भएको छ ।