युवा कविता उत्सव २०८१ : १ लाख राशिको पुरस्कार संयोग, सुदर्शन, सुमी र महेशलाई

२०८१ पुस ०८ गते

युवा कविता उत्सव २०८१ : १ लाख राशिको पुरस्कार संयोग, सुदर्शन, सुमी र महेशलाई

काठमाडौँ । प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजित युवा कविता उत्सव २०८१ मा कास्कीका संगम संयोग प्रथम भएका छन् । उनी ‘सावधान’ कविताका लागि ४० हजार राशिको पुरस्कारसहित प्रमाणपत्रले सम्मानित भएका हुन् ।

यस्तै कास्कीका कवि सुदर्शन पौडेलले ‘घर नफर्किएको छोराको सम्झनामा’ कविताका लागि ३० हजार राशिको द्वितीय पुरस्कार प्राप्त गरे।

Advertisement:

Ad
Ad

उदयपुरका कवि सुमी पोखरेलले ‘समयदर्शक यन्त्रको पर्दा नियाल्दा’ कविताका लागि २० हजार राशिको तृतीय पुरस्कार प्राप्त गरे । बझाङका कवि महेश कठायतले ‘देश’ कविताका लागि रु। १० हजार राशिसहित पुरस्कृत भए ।

पहिलो चरणमा कूल २सय २३ कवितामध्ये उत्कृष्ट २० कविता छनोट गरिएको थियो । सोमध्ये ४ कविहरू पुरस्कृत भएका हुन् ।

कवित्रय भीष्म उप्रेती, आरएन डङ्गोल र टिका आत्रेयले निर्णायकको भूमिकामा रहेका थिए । युवा परिषद बागमती प्रदेशका उपाध्यक्ष सन्तोष चौलागाईँको सभाध्यक्षतामा आयोजित कार्यक्रममा युवा तथा खेलकूद मन्त्री मीनकृष्ण महर्जनको प्रमुख आतिथ्य रह्यो । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, बुढ्यौली समाज मकवानपुरका अध्यक्ष आरसी रिजाललगायतले मन्तव्य राखेका थिए।