शेयर बजार घटेकोप्रति अर्थमन्त्रीको चासो,नेप्से कार्यालय पुगेर भने -"बजार घटाउने को हुन् ?"

२०८१ असोज ०२ गते

शेयर बजार घटेकोप्रति अर्थमन्त्रीको चासो,नेप्से कार्यालय पुगेर भने -"बजार घटाउने को हुन् ?"

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको सम्वन्धमा नेप्से कार्यालयनै पुगेर चासो लिएका छन् । पौडेल मन्त्री हुने हल्लादेखि निरन्तर बढेको शेयर बजार पछिल्लो २ साता यता निरन्तर घटिरहेपछि पौडेल आज अपरान्ह नेप्सेको कार्यालय भद्रकाली पुगेर सोधीखोजी गरेका हुन्। असार १७ गते २०३७.०९ अंकबाट उकालो लागेको नेप्से साउन ३१ गते ३०००.८१ अंकमा रोकिएको थियो। त्यसपछि निरन्तर घटिरहेको नेप्से बुधबार २५७६।७६ अंकमा अडिएको छ।

यसरी घटेको नेप्से सोमबारसम्म ४२४ अंकले घटेपछि अर्थमन्त्री पौडेल बुधबार नेप्से पुगेका हुन्। सुरुमा उच्च अंकले घट्ने संकेत देखाएको नेप्से अर्थमन्त्री पौडेल सेप्सेमा पुगेसँगै सामान्य ९४० अंकले घटेर २५७६.७६ अंकमा रोकिएको छ।

Advertisement:

Ad
Ad

बुधबार सेयर कारोबार समयमै नेप्से पुगेका अर्थमन्त्री पौडेलले नेप्से ३००० बाट २५०० अंकमा झरेको जवाफ खोज्न आएको बताएका हुन्। अर्थमन्त्री पौडेल, राजश्व सचिव दिनेशकुमार घिमिरे र नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष महेश बरालसमेत साथमा थिए।

नेप्से बढ्दो क्रममा रहेका बेला साउन ३१ गते २९ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो। तर, बुधबार भने साढे ५ अर्बमा खुम्चिएको छ।

सरकार पुँजी बजारको दिगो र विश्वसनीय विकासको पक्षमा रहेको भन्दै अर्थमन्त्री पौडेलले भने, "पुँजी बजारमा अहिले देखिएको ट्रेन्ड र आगामी दिनमा चाल्नु पर्ने कदमबारे ढिलो गर्नु हुन्न भनेर साथीहरूसँगै आएको हुँ।"

अर्थमन्त्री पौडेलले नेप्सेका अधिकारीसँग इन्साइडर ट्रेडिङ, कर्नरिङ, विभिन्न सामाजिक सञ्जालमा चलाइएका अफवाह र नेप्से घटाउन खेलिने खेलका विषयमा बुझ्न आएको पनि बताए।

नेप्से अध्यक्ष शोभाकान्त पौडेल र सेबोन अध्यक्ष बरालले सेयर बजारमा निगरानी बढाउन आवश्यक रहेको बताएका थिए।