सरकार सुनचाँदीको भन्सारदर घटाउन सकारात्मक

२०८१ साउन २३ गते

सरकार सुनचाँदीको भन्सारदर घटाउन सकारात्मक

काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनचाँदीको भन्सारदर घटाउन सरकार तयार रहेको बताएका छन् ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घका पदाधिकारीसँगको भेटमा मन्त्री पौडेलले भारतमा भन्सारदर घटेकाले त्यसको प्रभाव नेपालमा पारेकाले यस विषयमा सम्बद्ध निकायसँग आवश्यक परामर्श गरी छिट्टै निर्णय गरिने प्रतिबद्धता जनाए ।

सो अवसर नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले भारतमा हालै सार्वजनिक भएको बजेटमार्फत सुनचाँदीको भन्सारदर घटाएर छ प्रतिशत कायम गर्दा त्यसको असर नेपालमा परेकाले तत्काल घटाउनुपर्ने बताए । नेपालमा भन्सारदर २० प्रतिशत कायम रहेकाले व्यापार असन्तुलन हुन नदिन तत्काल भन्सारदरलाई घटाई सुनमा आठ प्रतिशत र चाँदीमा छ प्रतिशत भन्सारदर कायम गरिनुपर्ने उनको भनाइ छ । बैङ्कले निश्चित समयमा मात्रै सुनको आयात गर्ने तर विद्यमान व्यवस्था अनुसार भन्सारदर भने दिनदिनै परिवर्तन भइरहने भएकाले कारोबारमा समस्या परेको हुँदा प्रत्येक १५ दिनका लागि फ्ल्याटमा भन्सारदर कायम गर्नुपर्ने उनले बताए ।

Advertisement:

Ad
Ad

हाल विद्यमान सिफारिस सिस्टमलाई व्यवस्थित गर्दै दैनिक ५० किलो सुनको आयात गर्ने व्यवस्था मिलाई त्यसमध्ये ३० किलो बैङ्कमार्फत व्यवसायीका लागि र २० किलो उत्पादक (उद्योग) का लागि छुट्याउनुपर्ने खाँचो औँल्याउँदै अध्यक्ष रसाइलीले सुनको आयातमा कोटा प्रणाली कायमै रहेको खण्डमा दैनिक कोटाको आधारमा एक वर्षमा ३६५ दिन कायम गरेर बजारको माग र आपूर्ति सन्तुलन हुने गरी सिजन र अफ सिजन अनुसार मिलाई वार्षिक रूपमा तोकिएको कोटाको सिलिङभित्र रही आयात गर्ने व्यवस्था हुनुपर्ने बताए ।

तीनै वटा महासङ्घका तर्फबाट सुनचाँदीको क्षेत्रमा तत्काल सम्बोधन गर्नुपर्ने विषयलार्ई समावेश गरिएको ज्ञापनपत्रसमेत हस्तान्तरण गरिएको थियो ।

सुनचाँदीसँग सम्बन्धित सम्पूर्ण कार्यसम्पादनका निमित्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैङ्क सम्मिलित एकद्वार प्रणाली बनाइनुपर्ने, धेरै बैङ्कमार्फत सुन वितरण गर्नु झन्झट बढी हुने भएकाले केही सीमित बैङ्कलाई मात्रै सुन वितरणको जिम्मेवारी दिइनुपर्ने, कच्चा सुन आयातमा २० प्रतिशत भन्सार लाग्ने तर तयारी गहना आयातमा भने कच्चा सुन आयातमा भन्दा बढी भन्सार लाग्नुपर्नेमा जम्मा ९.५ प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्थाले स्वदेशी कालिगड, श्रम र सिप खेर जाने अवस्था आएकाले उक्त व्यवस्थालाई पुनरवलोकन गरिनुपर्नेलगायतका माग छन् ।

तेइस सयले घट्यो सुनको मूल्य मङ्गलबार सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपियाँले घटेको छ ।

सोमबार बढेर एक लाख ५० हजार रुपियाँ पुगेको सुनको मूल्य मङ्गलबार घटेर एक लाख ४७ हजार सात सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य दुई हजार ४०९ डलरमा झरेको छ । सोमबार प्रतिऔँस सुनको मूल्य दुई हजार ४५५ डलर रहेको थियो । मङ्गलबार चाँदीको मूल्यसमेत घटेको छ । सोमबार प्रतितोला एक हजार ७८५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य घटेर एक हजार ७२५ रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।