फेजा र युरोलोजी एण्ड किड्नी अस्पतालबीच सम्झौता, सदस्यलाई उपचारमा २० प्रतिशतसम्म छुट

२०८३ असोज २४ गते

फेजा र युरोलोजी एण्ड किड्नी अस्पतालबीच सम्झौता, सदस्यलाई उपचारमा २० प्रतिशतसम्म छुट

काठमाडौं । महिला आर्थिक पत्रकार संघ (फेजा) र युरोलोजी एण्ड किड्नी अस्पतालबीच स्वास्थ्य उपचारमा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार फेजाका सदस्यले अस्पतालमा उपलब्ध हुने योग्य स्वास्थ्य सेवामा २० प्रतिशत र निर्धारित औषधिमा १० प्रतिशत छुट पाउने भएका छन्।

 

Advertisement:

Ad

सम्झौतामा फेजाका तर्फबाट अध्यक्ष शर्मिला ठकुरी र अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिताराम भट्टराईले हस्ताक्षर गरेका छन्। सम्झौताले आर्थिक पत्रकारितामा सक्रिय महिला पत्रकारलाई स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

सम्झौताअनुसार अस्पतालले फेजाका सदस्यलाई अस्पतालको सेवा शुल्कमा २० प्रतिशत छुट उपलब्ध गराउनेछ। यसमा बिरामी दर्ता शुल्क, प्रयोगशालामा गरिने परीक्षण तथा निदानसम्बन्धी शुल्क, अस्पतालको बेड तथा योग्य आवास शुल्क, चिकित्सकको परामर्श तथा व्यावसायिक शुल्क र युरोलोजी तथा मिर्गौलासम्बन्धी योग्य उपचार प्रक्रियाका शुल्क समावेश छन्।

 

त्यस्तै, अस्पतालको आफ्नै फार्मेसी वा तोकिएको औषधि वितरण केन्द्रबाट उपलब्ध गराइने चिकित्सकले सिफारिस गरेका योग्य औषधिमा १० प्रतिशत छुट दिइने सम्झौतामा उल्लेख छ।

सम्झौताअनुसार छुट लिन सदस्यता प्रमाणित गर्नुपर्नेछ। सदस्यता प्रमाणीकरणका क्रममा आवश्यक कागजात उपलब्ध नभएमा वा छुटको योग्यता तत्काल पुष्टि हुन नसकेमा आवश्यक प्रमाणीकरण र बिलिङ समायोजन पछि गर्न सकिने व्यवस्था पनि गरिएको छ। यद्यपि, छुटसम्बन्धी व्यवस्था आकस्मिक उपचारमा बाधा पुग्ने गरी लागू गर्न नपाइने सम्झौतामा उल्लेख छ।

 

सम्झौतामा छुटको विवरण बिरामीको बिलमा स्पष्ट देखाउनुपर्ने, सहमतिमा उल्लेखित छुटदर परिवर्तन गर्न दुवै पक्षबीच पूर्वलिखित सहमति आवश्यक पर्ने तथा छुटको दायरा र सर्तसम्बन्धी कुनै परिवर्तन आपसी सहमतिमा गर्नुपर्ने व्यवस्था छ।

 

त्यसैगरी, सम्झौताले अस्पतालको चिकित्सकीय निर्णय र व्यावसायिक स्वतन्त्रतालाई कायम राखेको छ। बिरामीको परीक्षण, औषधि सिफारिस, उपचार प्रक्रिया, भर्ना तथा उपचारसम्बन्धी निर्णय चिकित्सकको स्वतन्त्र व्यावसायिक निर्णय र बिरामीको स्वास्थ्य अवस्थाका आधारमा हुनेछन्।

 

महिला आर्थिक पत्रकारको क्षमता अभिवृद्धि तथा व्यावसायिक हितका लागि स्थापना भएको फेजाले आफ्ना सदस्यको स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने उद्देश्यले गरेको यो सम्झौताले महिला आर्थिक पत्रकारलाई उपचार खर्चमा राहत पुग्ने विश्वास लिइएको छ।


साथै उक्त अस्पतालमा शनिबार (असोज २४)  फेजाका सदस्यको निशुल्क स्वास्थ्य जाँच पनि गरिएको छ ।