घटस्थापनादेखि फूलपातीसम्म जुनसुकै ग्यास सिलिन्डर साट्न सकिने, कहाँ कहाँ साट्न पाइन्छ ?

२०८३ असोज २३ गते

घटस्थापनादेखि फूलपातीसम्म जुनसुकै ग्यास सिलिन्डर साट्न सकिने, कहाँ कहाँ साट्न पाइन्छ ?

काठमाडौं । नेपाल आयल निगम र ग्यास उद्योगीहरूले दशैंमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौं उपत्यकामा फरक–फरक कम्पनीका सिलिन्डरबीच आपसी साटासाटको व्यवस्था लागू गर्न सहमत भएका छन्।

यो व्यवस्था कार्यान्वयनमा आएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीकै सिलिन्डर खोजिरहनुपर्ने बाध्यता हट्नेछ।

Advertisement:

Ad


निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अहिले बजारमा विभिन्न ब्रान्डका सिलिन्डर प्रयोग भइरहेकाले कतिपय उपभोक्ता ग्यास उपलब्ध हुँदाहुँदै पनि आफ्नो सिलिन्डरको ब्रान्ड नमिल्दा समस्यामा पर्ने गरेका छन्।

विशेषगरी एउटा मात्र सिलिन्डर भएका परिवारलाई चाडपर्वका बेला ग्यास खोज्दै पसल–पसल धाउनुपर्ने बाध्यताबाट राहत दिन जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सकिने व्यवस्था मिलाउन पहल गरिएको हो।

यस व्यवस्थाअनुसार फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।


यस व्यवस्थालाई प्रभावकारी बनाउन ग्यास उद्योगी तथा बिक्रेताहरूबीच भएको छलफलपछि पहिलो चरणमा काठमाडौँ उपत्यकाका ६ प्रमुख स्थानमा संयुक्त साटासाट केन्द्र तोक्ने सहमति भएको छ ।

निगमको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा निःशुल्क रुपमा ग्यास सिलिण्डर साट्ने योजना कार्यान्वयनमा ल्याइएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।

यो सहमतिअनुसार घटस्थापनादेखि फूलपातीसम्म उपत्यकाका उपभोक्ताले ६ स्थानबाट आफूसँग भएको सिलिन्डर अन्य ब्रान्डको सिलिन्डरसँग निःशुल्क रूपमा साटेर तोकिएको मूल्यमा भरिएका सिलिन्डर पाउन सक्नेछन् ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार बालाजुस्थित औद्योगिक क्षेत्रको अगाडि नेपाल ग्यास, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास बितरण गर्ने व्यवस्था मिलाइएको छ । यस्तै काठमाडौंको सिफलस्थित ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट एभरेष्ट र सुगम ग्यास सिलिण्डर साट्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी पेप्सीकोलाको सगर ग्यासको गोदामबाट सगर ग्इास, सुकेधारास्थित बाबा ग्यासको डिपोबाट बाबा र श्री ग्यास, कलंकीबाट साइबाबा र श्री कृष्ण तथा ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले ग्यास साट्न पाउने सुविधा उपलब्ध गराइएको छ ।

संघका अनुसार काठमाडौं उपत्यकामा बिक्री बितरण हुने सदस्य उद्योगहरुको ग्यासका सिलिण्डर मात्रै साट्फेर गर्ने व्यवस्था मिलाइएको छ । उक्त ६ स्थानबाहेक अन्य स्थानबाट अन्य ब्राण्डको सिलिण्डर साट्फेर नहुने संघले स्पष्ट पारेको छ ।

यो विशेष सुविधा घटस्थापनादेखि फूलपातीसम्म उपलब्ध हुनेछ । यस अवधिमा काठमाडौं उपत्यकामा बजारीकरण हुने कुनै पनि कम्पनीको खाली सिलिन्डर लिएर जाने उपभोक्तालाई प्रतिव्यक्ति एक सिलिन्डरका दरले उपलब्ध ब्रान्डको भरिएको सिलिन्डर साट्न दिइनेछ ।

सिलिन्डरको सम्भावित दुरुपयोग रोक्न र डिलर वा अन्य व्यापारीले नभई वास्तविक उपभोक्ताले मात्र सुविधा पाऊन् भन्ने सुनिश्चित गर्न सेवा लिन आउने व्यक्तिको पहिचान खुल्ने विवरण तथा मोबाइल नम्बर अभिलेखका रूपमा राखिनेछ।