सहकारी प्रकरणमा हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना

२०८१ मंसिर २८ गते

सहकारी प्रकरणमा हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना

काठमाडौं । सहकारी प्रकरणमा हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्त शर्माले चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको जानकारी दिए ।

Advertisement:

Ad
Ad

उनले भने, ‘उहाँले छातीमा असहज महसुस भएको बताउनुभएपछि चेक जाँचका लागि अस्पताल लगेका थियौँ । डाक्टरको सिफारिस अनुसार भर्ना गरेर अहिले सबै परीक्षणहरू भइरहेको छ ।’

एउटै मुद्दामा उही हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अस्पताल भर्ना हुन इन्कार गरेका छन् । केही दिनदेखि निरन्तर रक्तचाप बढेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रवक्ता शर्माका अनुसार अस्ति अस्पताल लगेर स्वास्थ्य जाँच गरिएको थियो भने हिजो चिकित्सकले अस्पतालमै आएर चेक गरेका थिए ।

‘चिकित्सकले अस्पताल भर्ना हुन सुझाव दिनुभएको थियो, तर उहाँले मान्नु भएन,’ शर्माले भने ।

लामिछानेलाई भेटेका रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले सभापति लामिछानेको स्वास्थ्य अवस्थाबारे चौतर्फीरुपमा चासो र चिन्ता व्यक्त भएपछि प्रहरीले स्वास्थ्य परीक्षण गराएको बताए ।