२०८१ मंसिर २१ गते
काठमाडौ । सामाजिक सञ्जाल फेसवुकमा साथी बनी चरित्रहत्या गर्ने तीन जना व्यक्तिलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ । पक्राउ पर्ने तीन जनाले नै महिलालाई साथी तथा प्रेमिका बनाएर चरित्रहत्या गर्ने गरेको पाइएको छ । पक्राउ पर्नेमा रौतहट, चन्द्रपुर नगरपालिका जुडीवेला घर भएका ३९ वर्ष का कृष्ण प्रसाद अधिकारी भन्ने बिहानी बहादुर अधिकारी रहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले बताएको छ । अधिकारीले फेरबुकमा कुराकानी हुने क्रममा आदान प्रदान गरिएका गोप्य तस्विरहरू रेकर्ड गरेर पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख दिएको आरोप छ । अधिकारी विरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरिएको छ । अधिकारीलाई जिल्ला अदालत काठमाडौंमा पेश गरि सात दिन म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको छ। यसैगरी, सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदान प्रदान गरिएका गोप्य तस्विरहरू पीडकले अश्लील शब्दहरू लेखी पीडितको सम्पर्क नम्बर सहित ह्वाट्सएप ग्रुपमा म्यासेज गरी दुःख दिएको आरोपमा अर्का चितवन, भरतपुर उपमहानगरपालिका वडा नम्बर १२ घर भएका ३७ वर्षका रुपक शर्मा पौडेल पनि पक्राउ परेका छन् । पौडेललाई पनि सातदिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । यता सामाजिक सञ्जाल फेसवुक मार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्विर तथा रेकर्ड गरिएका भीडियोहरु आफन्त तथा साथीहरुका म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख दिएको आरोपमा सप्तरी बोदेबरसाइन न.पा. वडा नं ६ फुल्काई घर भएका २४ वर्षका लक्ष्मण यादव भन्ने जगदिश प्रसाद यादव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनी वैदेशिक रोजागरीको क्रममा कतारमा थिए । नेपाल फर्कने क्रममा उनलाई साइबर ब्युरोले विमानस्थलबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया