'ओभरलोड’ नियन्त्रण गर्न देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै

२०८१ मंसिर ०५ गते

'ओभरलोड’ नियन्त्रण गर्न देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै

काठमाडौँ । देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रुपमा रहेको धर्मकाँटालाई अब क्रमशः डिजिटल बनाइँदै लगिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले मंगलबार संयुक्त रुपमा धादिङको धार्केमा रहेको धर्मकाटालाई डिजिटलाइजेशनको गर्दै सो घोषणा गरेका हुन्।

Advertisement:

Ad
Ad

महासङ्घको व्यवस्थापनमा रहेको यो धर्मकाँटाको डिजिटल रूपान्तरणले ‘ओभरलोड’ नियन्त्रणमा मद्दत पुग्ने विश्वास महासङ्घले व्यक्त गरेको छ । धर्मकाँटालाई डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र यातायात व्यवसायलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले जानकारी दिए ।

महासङ्ले देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी भइरहेको जनाएको छ । हाल देशभर २१ वटा धर्मकाँटा सञ्चालनमा छन । महासङ्घका अनुसार ती सबै धर्मकाँटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइने छ । डिजिटलाइजेशनपछि ओभरलोडको तथ्याङ्क र ट्रकको जानकारी सुरक्षित रूपमा व्यवस्थापन गर्न सकिनेछ ।

शुभारम्भ कार्यक्रममा मन्त्री दाहालले डिजिटल धर्मकाँटाले सरकारको यातायात नीति कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । सो कार्यले व्यवसायीलाई जिम्मेवार बनाउने र यात्रु तथा मालसामानको सुरक्षित ढुवानी सुनिश्चित गर्ने उनको भनाइ थियो ।