३० करोड थान २ रुपैयाँका सिक्का छाप्न राष्ट्र बैंकले माग्यो बोलपत्र

२०८३ असोज २० गते

३० करोड थान २ रुपैयाँका सिक्का छाप्न राष्ट्र बैंकले माग्यो बोलपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँ दरका चल्तीका सिक्का डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीलगायतका कामका लागि बोलपत्र आह्वान गरेको छ ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य (Pre-qualified) सुरक्षा मुद्रण कम्पनीहरूबाट ३० करोड थान नेपाली २ रुपैयाँ दरका सिक्का उत्पादन तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो ।

 

Advertisement:

Ad

राष्ट्र बैंकले ५ अक्टोबर २०२६ मा बोलपत्रसम्बन्धी सूचना प्रकाशित गर्दै योग्य कम्पनीहरूलाई बोलपत्र पेश गर्न आह्वान गरेको छ । बोलपत्र प्रक्रिया Single Stage–Two Envelopeविधिबाट हुनेछ । यसअन्तर्गत प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी गरी पेश गर्नुपर्नेछ ।

 

मंसिर १९ सम्म बोलपत्र बुझाउनुपर्ने

बोलपत्रदाताले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा ४ नोभेम्बर २०२६ को दिउँसो १२ बजेसम्म बोलपत्र बुझाइसक्नुपर्नेछ । सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा बोलपत्र खोलिनेछ ।बोलपत्र १२० दिनसम्म मान्य हुनुपर्नेछ । साथै, बोलपत्रसँग न्यूनतम १ लाख ३२ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।


राष्ट्र बैंकले इच्छुक पूर्वयोग्य कम्पनीहरूका लागि १६ अक्टोबर २०२६ मा दिउँसो १२ बजे प्रि–बिड बैठक आयोजना गर्ने भएको छ । बैठक राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा हुनेछ । बोलपत्रसम्बन्धी कागजात खरिद गर्न चाहने कम्पनीले ३ नोभेम्बर २०२६ सम्म कार्यालय समयमा आवेदन दिनुपर्नेछ । बोलपत्र कागजातका लागि नेपाली रुपैयाँमा २० हजार रुपैयाँ शुल्क तोकिएको छ । अमेरिकी डलरमा १३१ र युरोमा ११५ शुल्क तोकिएको छ ।